हुलाकी न्यूज, काठमाडौ, २७ कार्तिक । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले तराईमा जारी आन्दोलनका कारण डर–त्रास फैलिएको बताएका छन् । ओलीले तराईको अवस्था बाध्यकारी रहेको टिप्पणी गर्दै आन्दोलनका कारण मधेशी जनताहरु नेताहरुको बन्दी बनेको आरोप लगाए ।
ओलीले भारतको तर्फबाट हुँदै आएको अघोषित नाकाबन्दी लामो समयसम्म रहन नसक्ने दावी पनि गरेका छन । रिपोर्टर्स क्लब नेपालको देउसी भैलो कार्यक्रममा उनले भने,‘भारतको अघोषित नाकाबन्दी राष्ट्रिय, अन्तर्राष्ट्रिय कानून, मानवीयता र भुकम्पछिको अवस्था सबै कारणले गलत रहेको भन्दै सबैले चिन्त ब्यक्त गरिरहेको अवस्थामा यो लामो समयसम्म जारी रहन सक्दैन ।
प्रधानमन्त्री ओलीले कुनै पनि नाममा नेपाल पछाडि परिरहन र दुख पाईरहन नसक्ने दावी गर्दै मुलुक सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रुपमा विकसित भएर अघि बढ्ने दृढता ब्यक्त गरे । उनले भने नेपाल अहिले असाधारण कष्ट र मानवीय संकटको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै आफूलाई यस्तो अवस्था आएकोमा अहिलेसम्म पनि पत्यार लाग्न नसकेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘नपत्याए पनि ग्यास अभावमा खाना पकाउन पाईरहेका छैनन, सडक खाली छन, अस्पतालमा औषधीको अभावमा उपचार प्रभावित भएको छ, विद्यालय बन्द छ, कृषि, उद्योग र ब्यापरामा प्रतिकुल असर परेको छ । दुरगामी रुपमा हाम्रो अर्थतन्त्रलाई नकारात्मक असर परेको छ ।



