हुलाकी न्यूज,जनकपुरधाम :धनुषाको मिथिला नगरपालिका अन्तर्गत रहेको स्वास्थ्य शाखाले मातहतका स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि पठाएका छन् ।

पालिकाको वडा नम्बर ११ चुरे दुधपानीस्थित तुलसी स्वास्थ्य चौकीमा पठाएको सिल्वर क्लोर, फोलस र सेब्रानलगायत थुप्रै प्रकारका औषधी म्याद गुज्रिसकेको अवस्थामा आइपुगेको स्वास्थ्य चौकीका प्रमुख सहदेव यादवले जानकारी दियका हुन् ।म्याद गुज्रेको औषधि स्वास्थ्य चौकी पुग्नुमा स्वास्थ्य शाखाका इन्चार्ज अशोक भण्डारीको लापरवाही भएको प्रमुख यादवले आराेप लगाएका हुन् ।

उनले स्वास्थ्य कार्यालय नै म्याद गुज्रिएको र म्याद गुज्रिन लागेको औषधि आफू कहाँ पठाएको बताएका छन् भने २५ माघ २०७७ मा स्वास्थ्य शाखाले तुलसी स्वास्थ्य चौकीलाई आवश्यक औषधीहरु पठाएको थियो तर पुसमै म्याद सकिएको कतिपय औषधि स्वास्थ्य शाखाले माघमा पठाएको तथ्य खुलेको छ।पुसमै म्याद सकिएको केहि औषधि स्वास्थ्य शाखाले माघमा पठाएको तुलसी स्वास्थ्य चौकीका ईन्चार्ज सहदेव यादवले बताए । त्यसमा केहि आफ्नो पनि प्राविधिक त्रुटि रहेको ईन्चार्ज यादवले स्वीकारेका छन्।

‘मेरो पनि गल्ती छ, औषधि बुझ्ने बेला मलाई चेकजाँच गर्नुपर्थ्याे । तर शाखाकै विश्वासमा त्यसो गरिन’, ईन्चार्ज यादवले भने, ‘पछि औषधिको म्याद सकिएको देखेपछि स्वास्थ्य शाखामा जानकारी गराएको छु । तर कुनै सुनुवाई भएको छैन ।’

म्याद सकिएको औषधिहरुलाई स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकले व्यवस्थापन गरिने उनको भनाइ रहेको छ ।स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मिथिला नगरपालिका वडा नं ११ का वडाअध्यक्ष वेदवहादुर कार्की स्वास्थ्य चौकीमा म्याद सकिएको औषधि रहेको विषयमा भने अनविज्ञ छन् ।

गएको साउनमा मात्रै म्याद सकिएको औषधिहरु व्यवस्थापन गरेको उनको भनाइ छ । ६–७ महिनामै औषधिको म्याद कसरी सकिन्छ भन्दै उनी आश्चर्यचकित भए । पुसमै म्याद सकिएको औषधि माघमा कसरी आइपुग्यो भन्ने जिज्ञासामा वडाध्यक्ष आश्चर्यमा परे ।उनी आफू नभएको बेला व्यवस्थापन समितिको उपाध्यक्षलाई स्वास्थ्य शाखाबाट आएको औषधि बुझ्न जिम्मा दिएको भन्दै पन्छिए ।

यता स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष बुद्धबहादुर मोक्तानले आफूहरूले टेक्निकल कुरा बुझ्न नसकेको प्रतिक्रिया दिएका छन् भने ‘हामी टेक्निकलमा परेनौं, म्याद के हो उहाँहरुले बुझ्ने कुरा हो,’ उनले भने, ‘म्याद सकेको छ भने हामीलाई भन्नु पर्थ्याे । औषधिमा चैत–बैशाख भनेर लेखेको भए बुझ्थ्यो ।’ तर औषधिमा म्यादहरु अंग्रेजीमा भएको हुनाले आफु बुझ्न नसकेको उनले बताए ।

मिथिला नगरपालिकाका उपमेयर तारा कुमारी बस्नेत लामाले म्याद सकिएको औषधिको विषयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताइन् । उनले अनुगमन गर्ने आफ्नो अधिकार पनि नगरपालिकाले खोसेको आरोप लगाएकी छन् ।‘मलाई योजना अनुगमनमा मात्रै सिमित पारेको छ’, उपमेयर बस्नेतले भनिन्, ‘जनताको लागि भएपनि स्वास्थ्य चौकीहरुको अनुगमन गर्छु ।’ उनले तत्कालै स्वास्थ्य शाखा अधिकृतलाई फोन गरेर आवश्यक निर्देशन दिँदै सचेत गराइन् ।यस विषयमा मिथिला नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रचिन्द्र डंगोलले सम्बन्धित शाखासंग बुझेरमात्र केहि प्रतिक्रिया दिने बताए ।
यता मिथिला नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत तालिमका लागि काठमाडौं गएका छन् । उनले आफू बाहिर रहेको र कार्यालयमा रहेको तथ्यांक देखेरमात्र केही प्रतिक्रिया दिने बताए ।

निशुल्क अत्यावश्यक औषधि व्यवस्थापन अन्तर्गत अस्पताललाई ७०, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५८, स्वास्थ्य चौकीमा ३५ तथा सामुदायिक स्वास्थ्य इकाई र सहरी स्वास्थ्य केन्द्रमा २५ थरीका औषधि निशुल्क आउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.