हुलाकी न्यूज, काठमाडौं २६ कार्तिक । मधेश–थरुहटमा जारी आन्दोलनका कारण अधिकांश विद्यालय बन्द छन् । विद्यालय बन्द राखेका र मधेश आन्दोलनमा सहभागी भएको शिक्षकहरुलाई कारवाही गर्ने चेतावनी नेपाल सरकारले दिएको छ ।
यसअघि पनि शिक्षा मन्त्रालयले आन्दोलनमा सहभागी नहुन शिक्षकहरुलाई निर्देशन दिदै आएका थिए तर पनि मधेश थरुहटका शिक्षकहरु आन्दोलनमा सहभागी हुँदै आएका छन् ।
आन्दोलन सुरु भएलगतै गृहमन्त्रालयले मधेश आन्दोलनमा सहभागी हुने कर्मचारीहरुलाई कारवाही गर्ने चेतावनी दिएको थियो तर पनि कर्मचारीहरुले समर्थनमा रैली तथा प्रर्दशनमा सहभागी हुँदै आएका छन् ।
यता शिक्षा मन्त्रालयले मधेश आन्दोलनमा सहभागी शिक्षकलाई विभागीय कारबाही गर्न प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनमा सहभागी शिक्षकलाई विभागीय कारबाही गर्न सिफारिस गरेपछि मन्त्रालयले प्रक्रिया अघि बढाउने जनाएको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले आयोगको निर्देशन कार्यान्वयन गर्न मन्त्रालयले प्रक्रिया तत्काल सुरु गर्ने जानकारी सञ्चारकर्मीहरुलाई दिएका छन् । आयोगले सामुदायिक विद्यालयका शिक्षक मधेश आन्दोलनमा गएकोले पठनपाठन हुन नसकेको औल्याएको छ ।
आयोगको सिफारिसमा भनिएको छ , ‘आन्दोलनरत जिल्लाका विद्यालयहरु तत्काल सञ्चालन गर्ने र आन्दोलनमा सक्रिय शिक्षकहरुलाई विभागीय कारबाही अगाडि बढाई सो को जानकारी आयोगलाई दिने ।’



