जितेन्द्र महासेठ

जनकपुर उद्योग वाणिज्य संघका महासचिव एवं अध्यक्षका उम्मेदवार

जनकपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै छ। उम्मेदवारहरु सक्रियता बढेको छ। जनकपुरधामका उद्योगी व्यापारीहरुको समस्या तथा समाधानका विषयमा चर्चा सुरु भएको छ। उद्योगी व्यापारीहरुको समस्या तथा आगामी निर्वाचनका विषयमा जनकपुर उद्योग वाणिज्य संघका वर्तमान महासचिव र अध्यक्षका उम्मेदवार जितेन्द्र महासेठसँग हुलाकी न्यूजले गरेको कुराकानीको सम्पादित अंशः

० तपाईमाथि बाहुबलीको आरोप लागेको छ नि?

जनकपुर उद्योग वाणिज्य संघ र जिल्ला भरीमा १७ हजार ७ सयभन्दा बढी औद्योगिक प्रतिष्ठानहरु छन्। ती उद्योगी व्यापारीहरु कुनै समस्यामा परेको खण्डमा सहयोगका लागि हरपल म तयार रहन्छु। जस्तो सुकै परिस्थितिमा म अगाडि आउँछ। उद्योगी व्यापारीको सहयोग र बचाउका लागि जस्तो सुकै कदम उठाउने गरेकोले मलाई बाहुबली भनिएको होला। तर बाहुबलीको खास अर्थ मलाई थाहा छैन।
कसैले मलाई व्यापारीहरुको सहयोगकर्ताको रुपमा बाहुबली भन्छ भने त्यो ठीकै होला तर अनर्थ लगाएर ममाथि बाहुबलीको आरोप लगाउँछ भने त्यो सरासर गलत हो। त्यस्तो नराम्रो गतिविधि मेरो कुनै छैन।

० उद्योग वाणिज्य संघको चुनावमा राजनीतिकरण पनि हुन्छ। यहाँलाई चै कुन राजनीतिक दलले सहयोग गरेको छ?

नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का सम्पूर्णसँग मेरो राम्रो सम्बन्ध छ। वाणिज्य संघमा प्रत्यक्ष कुनै राजनीति हुँदैन। सबैसँग राम्रो सम्बन्ध छ र रहनेछ। उहाँहरु सबैले मलाई सहयोग गर्नु हुनेछ। र, अहिले पनि सहयोग गर्दै हुनुहुन्छ।

० उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा तपाईको प्रतिस्पर्धीका रुपमा देखिएका जितेन्द्र प्रसाद साहका विषयमा केही भन्न चाहनु हुनुन्छ?

उहाँ मेरो दाई हो, मैले उहाँलाई सम्मान गर्छु। तर, निर्वाचनमा व्यक्तिको लगानी र योगदानका आधारमा मतदान हुन्छ। उद्योगी व्यापारीले योगदानको कदर गर्नेछ र मलाई जिताउने छन् भन्ने मलाई विश्वास छ।

० प्रसंग फरक गरौं, कोरोना कालमा उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिले पनि राम्रो काम गर्न सकेन नि?

होइन, राम्रो काम गरेको छ। हामीले मेडिकल सेक्टरलगायतका अन्य क्षेत्रका उद्योगी व्यापारीहरुलाई सहयोग गरेका छौं। अध्यक्ष ज्यूको निर्देशन बमोजिम हरेक पल मैले काम गरेको छु। जहाँ समस्या भयो त्यहाँ म हाजिर थिएँ।



० तर, व्यापार सुक्यो नि?

हो, व्यापारमा केही समस्या आएको हो। तर, अहिले विस्तारै विस्तारै ट्रयाकमा आएको छ। समस्याहरु समाधान हुँदैछ। उद्योग वाणिज्य संघले व्यापारीको समस्या समाधानका निम्ति प्रत्येक दिन जस्तो कुनै नकुनै गतिविधि गर्दै आएको छ।
अहिले हाम्रो मुख्य एजेण्डा भनेको बाहिरबाट आउने पर्यटकलाई कसरी जनकपुरधाममा होल्ड गर्ने हो। त्यसका लागि काम भइरहेको छ। म निर्वाचित भएभने सबभन्दा पहिले त्यही काम गर्नेछु।

० जनकपुरधामका व्यापारीहरुले प्रशासनिक जटिलताको विषय पनि उठाउने गरेका छन्, खै अहिलेसम्म समाधान भएको छैन त?

यहाँ प्रशासनिक जटिलता छ। व्यापारीहरुको सामान गोदामबाट उठाएर उनीहरुले सिमा क्षेत्रबाट पक्राउ गरेको भन्दै दुःख दिने गरेका छन्। हामीले व्यापार गर्नका लागि प्यान नम्बर पाएका छौं। अब सरकारले भन्दिनु पर्यो कि सिमा नजिक कारोबार गर्नु हुँदैन। होइन भने व्यापारीलाई दुःख दिने काम बन्द गरिनु पर्छ।

अन्य समस्याहरु पनि छन् जनकपुरधामका र आसपासका व्यापारीहरुको। त्यो प्रशासनिक समस्या समाधानका लागि पनि हामीले पहल गर्दैछौं।

० अन्तिममा जनकपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा तपाई अध्यक्ष पदको उम्मेदावरी दिने भन्नु हुन्छ। त्यसो भए तपाईका मुख्य एजेण्डाहरु के–के हुन्?

सबभन्दा पहिले त जनकपुरधामका उद्योगी व्यापारीहरुको सुरक्षा मेरो प्रमुख एजेण्डा हो। उद्योगी व्यापारी नै सुरक्षित रहेन भने व्यापार कसरी हुन्छ? त्यसकारण सुरक्षालाई मैले प्राथमिकता दिएको छु। व्यापारीहरुलाई संगठित गर्ने पनि मेरो उदेश्य हो।

यसैगरी, जनकपुरधाम र जिल्ला भरीमा नयाँ उद्योग व्यापार विस्तारको एजेण्डा छ। हामीले समयसँगै उद्योग व्यापारलाई पनि बढाउनु पर्छ त्यसका लागि राज्य होस् अथवा अन्तर्राष्ट्रिय साझेदारहरुसँग परामर्स गरेर यहाँको उद्योग व्यापार बढाउँछु।
जनकपुरधाम पर्यटकीय नगरी भएकोले पर्यटकहरुलाई सहज आवागमन र घुमिफिर, किनमेलको उचित व्यवस्थापन हुनु आवश्यक छ। त्यो पक्षमा मेरो काम हुनेछ।

औद्योगिक क्षेत्रको स्थापना, उद्योगको विस्तार तथा नयाँ उद्योग स्थापनाका लागि पहल गर्ने छु। बाहिरका उद्योगीहरुले यहाँ आउँदा सहज रुपमा जग्गा नपाउने समस्या छ। त्यसकारण ठूला उद्योग स्थापनाका निम्ति जग्गा व्यवस्थापनको पक्षमा पनि मेरो ध्यान छ।

यस्ता कयौं योजनाहरु छ। यी योजनाहरु कार्यन्वयनका लागि जनकपुर उद्योग वाणिज्य संघमा आवद्धहरुले मलाई चुनाव जिताउने छ भन्ने मलाई विश्वास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.