सुजित कुमार झा
२००७ को दिसंबरमा मधेश आंदोलन भैरहेको बेला पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय गौरमा कुरिरहेको थिएँ एक जना चंद्रनिगाहपुर निकै सोझा भाइले धेरै सरल भाषामा मलाई एउटा प्रश्न सोध्यो “दाई ! यहाँ बस्ने कर्मचारी नेपाली हो ? ” . म पनि बुद्धि न भएको केटा नै थिए त्यसको प्रश्नको उत्तर मैले दिन सकेन । धेरै छिटो छिटो मेरो दिमाग सोच्नमा ब्यस्त भयो तर मलाई उसको प्रश्न को उत्तर पनि दिनु थियो र मैले प्रश्न फेरि बुझ्ने चेस्टा गरें । “यो त सरकारी ऑफिस हो भाई , नेपाली बाहेक अरुलाई त जागीर दिदैन होला, वा कि दिन्छ त्यो मलाई थाहा छैन” . फेरी उसले स्पस्ट पार्यो “मधेसी हो कि पहाड़ी ?”. मैले यसपाली प्रश्न बुझें र उत्तर पनि दिन भ्याएं। तर आज पनि त्यों प्रश्न मेरो दिमागको वरिपरि घुमि रहन्छ ।
दोस्रो घटना हो नया बानेश्वर को पार्किंग मा पर्ची काटने दाई संग को वार्तालाप । मैले आफ्नो बाइक को नंबर भने “तीन सय बेरासी”, वहां ले सोध्नु भयो “हजुर इंडिया को हो ? ” मैले भने “होइन , किन र ?” वहां ले भन्नु भयो “नेपाली मा तीन सय बयासी हुन्छ” । कुनै बेलाको नेपाली मा धुरन्धर विद्यार्थी लाई एउटा जाबो नंबर थाहा छैन सोच्दै स्वयम लज्जित महसूस गर्दै थिएँ तर मलाई आफूलाई नेपाली प्रमाणित पनि गर्नु थियो, र मैले सामान्य बर्तालाभ भईरहदा एउटा प्रश्न सोधें “जब अमेरिकामा कम पढ़े लेखेका, गरीब देश का गरीब मान्छे हरु र इंगलिश पट्टकै बोल्न नजान्ने मान्छेहरु अमेरिकन हुन सक्छ भने नेपाल मै जन्मेका, नेपाल कै बंशज नागरिकता बोकि हिड़ने र खसभाषा राम्ररी न बोल्न सक्ने मान्छे नेपाली हुन सक्दैन ? “। संभवत यही मेरो अंतिम प्रश्न त्यों सम्बाद को आखिरी वाक्य थियो।
मेरो जन्म सर्लाही जिल्ला को बलरा लक्ष्मीपुर मेरो मावली गाउँमा भएको हो र त्यसपछि मेरो शिशुकाल र बाल्यकाल चंद्रनिगाहपुर देखि ३ किमी टाढा संतपुर मा बितेको हो। मा संतपुरमा १० बर्ष को उमेर हुँदा सम्म बसें। मेरो थुप्रै साथी हरु पहाड़ी भए पनि मलाई उनीहरु पहाड़ी हुन र म मधेशी हूँ भन्ने ज्ञान भएन। जुन उच्चारण गरेर उनीहरु नेपाली बोल्थे मैले पनि त्यही उच्चारण गर्थे। समय बित्दै गयो र मेरो बुवा को सरुवा भयो र म आफ्नो पुर्ख्यौली गाउँ भारत सीमा नजिकै आएं जहाँ नेपाली टीवी र रेडियोमा मात्रै सुनिन्थ्यो । म क्रमश खसभाषा बिर्सदैं गएँ। त्यसपछि झण्डै १२ बर्ष भारत माबसें जसले मलाई खसभाषा भन्दा अनेक टाढा गरिदियो।
जिल्ला प्रशासनको घटना पछि मेरो दिमागमा कहिलेकाहीं एउटा प्रश्न आउँछ आखिर त्यो भाइले मलाइ नेपाली सोचेर/ठानेर नै त्यस्तो प्रश्न सोध्यो होला किनभने त्यहाँ अरु धेरै कालो मान्छेहरु थिए। यसको मतलब अनुहार ले पनि म नेपाली नै हो । यदि खसभाषा राम्रो उच्चारण गरेर बोल्न सक्ने भए र “झा” लाई “शर्मा” बनाई दिए कसको मजाल मलाई मधिसे भन्ने ? आखिर नेपाल का विशुद्ध नेपाली कहलाउने पत्रकार “रविन्द्र मिश्र”, कलाकार “मोहन मिश्र” तथा सम्पूर्ण “झा”, “मिश्र” तथा “तिवारी” थर भएका नेवार समुदाय मा मिसिएर “त, थ, द, ध ” लाई “ट, ठ, ड, ढ” उच्चारण गर्ने हाम्रै बिरादर का हुन । फरक भनेको वहां ले उच्चारण गर्ने भाषा मात्रै हो, र यस्तो उच्चारण मा वा भाषा मा फरक भए राष्ट्रीयता र नागरिकता मा प्रश्न चिन्ह लगाउनु मूर्खता बाहेक अरु केहि हुन सक्दैन।
शायद म पनि पहाड़ी परिवारमा जन्मेको भए मलाइ पनि त्यही शिक्षा दिइएको हुन्थ्यो होला । मधेशीहरु भारतबाट आएका हुन , उनीहरुलाई धोती, मदिसे भन्ने उनीहरु नेपाली होइनन् । तर मेरो जन्म मधेसी परिवारमा भएको हो त्यसैले मलाई थाहै भएन, एस्तो शिक्षा नै दिइएन र मलाई मन पराउने पहाड़ी साथीहरुले पनि आभाष हुन दिएन, धन्यबाद दिन्छु उनीहरुलाई । नेपाल मा मात्रै होइन बिश्वको जुनसुकै कुनामा मधेशी भन्ने पहिचान छैन, तर यो पहिचान दिने जिम्मेबारी देश हाँकने हरु को हो। देश लाई बिकसित बनाउने ठुला ठुला नेता हरु ले आफ्नो ५० % जनता लाई उपेक्षा गरे कसरी अगाडि बढ़न सक्ला, अलि गार्हो जस्तै लाग्छ ।
अन्त्यमा, म कुनै सचिन तेंदुलकर, बिल क्लिंटन वा कुनै प्रख्यात ब्यक्ति होइन जो सबैको प्रेरणाको श्रोत हुन सक्छ । म अत्यंत साधारण परिवार मा जन्मेको अत्यंत साधारण ब्यक्ति हूँ त्यसैले समय समयमा लेख लेखिरहदा पनि आफूलाई “म” भन्ने पात्र बनाई कहिले पनि कुनै लेख लेखेको छैन, यो पहिलो हो, र यो पनि बाध्यता जस्तो नै भएकोले लेखियो। मैले लेखेको कुरा मा कसैको चित्त बुझेको छैन भने क्षमा चाहन्छु।
(लेखक : हाल अमेरिकामा बरिष्ट सॉफ्टवेयर कंसल्टेंट हुन्)



