हुलाकी न्यूज, कार्तिक २५ काठमाडौं । प्रधानमन्त्री केपी ओली मधेशका एफएम रेडियोहरुमाथि अंकुश लगाउन प्रयासरत छन् । ओलीले सञ्चारमन्त्री शेरधन राईलाई मधेश–थरुहटमा जारी आन्दोलनमा अहम भूमिका त्यहाँका एफएम रेडियोहरुले खेलेको भन्दै त्यसलाई नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
ओलीले नेपालको नयाँ संविधानबारे मधेशका एफएम रेडियोहरुले गलत प्रचारप्रसार गरेको भन्दै तिनीहरुलाई नियन्त्रण गर्न निर्देशन दिएको हो ।
मंगलबार उक्त निर्देशन अनुसार सञ्चारमन्त्री राईले छलफलसमेत गरेका छन् । छलफलमा मन्त्री राईले प्रधानमन्त्रीबाट यस्तो निर्देशन आएको बताएका छन् । छलफलमा सहभागीहरुले रेडियोहरुलाई नियन्त्रण गर्नु सरकारको ठूलो भूल हुने सुझाव दिएका छन् ।
मंगलबारको छलफलमा सञ्चारमन्त्री राईसहित सञ्चार सचिव, पत्रकार महासंघका अध्यक्ष, अकोरैब, बानका प्रतिनिधिसहित करिब एक दर्जन व्यक्तिहरुको सहभागीता रहेको थियो ।
छलफलमा पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन नहुने बताएका थिए ।
यता ब्रोडकास्टिङ्ग एशोशिएशन आफ नेपाल(बान)का अध्यक्ष गोपाल झाले मधेशका एफएमहरुलाई सरकारले नियन्त्रण गर्न नहुने बताए । झाले सरकार नियन्त्रण मुखीभन्दा पनि अनुगमन मुखी हुनु पर्ने सुझाव दिएको हुलाकी न्यूजलाई बताए ।
झाका अनुसार मधेशका एफएम रेडियोहरुको अनुगमनका लागि प्रेस काउन्सिल नेपालको संयोजकत्वमा एक अनुगमन समिति गठन हुने निर्णय भएको छ । उक्त समितिले एक सातामा रिपोर्ट दिनेछ ।
यसअघि सरकारले मधेशका बादल एफएमसहित अन्य एफएमहरुलाई नियन्त्रण गर्ने प्रयास गरेका छन् ।



