रमेश ठाकुर, रौतहट २४, कात्र्तिक । औषधि अभावका कारण रौतहटका सरकारी अस्पतालमा विरामीको चाप घट्न थालेको छ । नियमित रुपमा बिरामीहरुलाई चाहिने औषधिहरुको अभाव भएपछि जिल्ला सरकारी अस्पताल गौरमा बिरामीको चांप घटेको अस्पताल प्रशासनले जनाएको छ ।
लामो समयदेखी मधेशमा जारी आमहडतालको कारण यातायात बन्द भएपछि औषधीको अभाव भएको हो । मध्य मधेशका जिल्लाहरुमा बिगत ३ महिनादेखी जारी संयूक्त लोकतान्त्रीक मधेशी मोर्चाको आमहडतालको कारण औषधीको अभाव भएपछि जिल्ला अस्पताल गौर रौतहटमा बिरामी आउन छाडेको हो ।
बन्द हडतालको कारण जिवनजलदेखी अतिआवश्यक औषधीहरुको समेत अभाव भएपछि टांढाबाट उपचार गराउन आएका अतिविपन्न तथा गरिब परिवारका बिरामीहरु बिना उपचार अन्तै जाने बाध्यता हुन थालेका छन् । पर्याप्त मात्रामा औषधी उपलब्ध भएको समयमा नियमीत २ सयको हाराहारीमा आउने विरामीहरु अहिले घटेर ४० पुगेको गौर अस्पतालको ईमरजेन्सी वार्डका ईन्चार्ज प्रविण कुमार झाले हुलाकी न्यूजलाई बताए ।
झाकाअनुसार यातायात नचल्नु र अस्पतालमा पनि पर्याप्त मात्रामा औषधि उपलब्ध नहुनुले बिरामीहरु उपचारका लागि बाहिर जान थालेका हुन् ।



