
हुलाकी न्यूज, जनकपुरधामः जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले सिरहामा विस्फोट गराएको छ।
सिरहाको लहानस्थित मालपोत कार्यालयमा गोइत समूहले विस्फोट गराउँदा करिब आधा दर्जन व्यक्ति घाइते भएका छन्।
घटनालगतै गोइतले प्रेस विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएका छन्।
मधेश स्वतन्त्र देश हुनु पर्ने माग राख्दै २०६१ सालदेखि सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेशमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गराएको गोइतले जनाएका छन्।
अहिले उत्पन्न परिस्थितिको जिम्मेवार नेपाल सरकार र प्रदेश सरकार हुने पनि उल्लेख गरेका छन्। अवस्थामा सुधार नआए यसभन्दा पनि उच्च स्तरको कारवाही गर्ने चेतावनी गोइतले दिएका छन्।
आइतवार दिउँसो करिब १२ बजेर ४० मिनेटको बम विस्फोट भएको थियो। आज बिहानमात्र गोइत समूहका नेता रामविलाश यादवले आत्मसमर्पणसमेत गरेको प्रहरीले जनाएको छ।
विस्फोटमा कार्यालयका नासु सहित सात जना घाइते भएका छन्। घाइतेमध्ये ३० वर्षीय दिनेश कुमार भण्डारीको अवस्था भने गम्भीर रहेको छ।
घाइते हुनेहरुमा कार्यालयका नायब सुब्बा शिव कुमार यादव, सेवाग्राही धनगढीमाइ नगरपालिका १३ का भोला बहादुर पाछे मगर,सोही नगरपालिका ४ का दिनेश कुमार भण्डारी, गोलबजार नगरपालिका ४ कि फुल कुमारी ठाकुर,सोही नगरपालिका ६ कि बेचनी मगर, लक्षमि नारायण मगर, लहान नगरपालिका १६ तरेगना का लाल बहादुर बिक र भगवानपुर ३ का बद्री नारायण यादव रहेका छन् ।



