हुलाकि न्यूज,जनकपुरधाम : प्रधानमन्त्री ओलीले एक कार्यक्रममा नेपालका प्रधानमन्त्रीको नाम नेपालमा मात्र नभई भारतमा समेत बच्चा–बच्चालाई थाहा भएको दाबी गरेका थिए।
तर, उनको नाम नेपाली बालबालिकालाई नै थाहा नभएको सुन्दा आश्चर्य लाग्दछा। जनकपुरधाम उपमहाननगरपालिका वडा नम्बर २५ मा रहेको लोहनामा मदरसाका विद्यार्थीहरुलाई आफ्नै देशको प्रधानमन्त्री र राष्ट्रपतिको नाम थाहा रहेनछ।
हालै प्रदेश नम्बर २ को प्रदेश प्रमुख नियुक्त भएका राजेश झा मदरसा महकामा पुग्दा यो कुरा थाहा भएको हो। उनी नेपालकै सबैभन्दा ठूलो उक्त मदरसामा अनुगमनका लागि पुगेका थिए।सो मदरसामा स्नातकसम्म पढाइ हुुन्छ भने साढे ४ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने २५० छात्रा र २ सय छात्रालाई पढाउ १२ जनामात्रै शिक्षक रहेको वडा नम्बर २५का वडा सदस्य मोहम्मद कमरुद्दिनले बताए।
प्रदेश प्रमुख झा सोही वडामा रहेकोे कादरिया बरकाती मदरसामा पनि पुगेका थिए। त्यहाँ २५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने २ जनामात्रै शिक्षक रहेका छन्।
सो मदरसामा प्रदेश प्रमुख झाले अध्ययनरत छात्रछात्रालाई देशको प्रधानमन्त्रीको नाम, राष्ट्रपतिको नाम, प्रदेश २ मा कतिवटा जिल्ला छन् भनेर विद्यार्थीहरुलाई सोधे। अधिकांश विद्यार्थीले प्रदेश प्रमुखले सोधेका प्रश्नको जवाफ दिन सकेनन्। प्रदेश प्रमुख झाले मदरसाका शिक्षकहरुसँग कुरा गर्दै मदरसाहरुमा गुणस्तरीय शिक्षाको अभाव रहेकोमा दुःख व्यक्त गरे। जवाफमा शिक्षकहरुले मदरसाप्रति सरकारी उदासिनताका कारण निजी चन्दाको भरमा जसोतसो चलिरहेको दुखेसो व्यक्त गरेका थिए।



