वृजराज कुशवाहा, नवलपरासी २४ कार्तिक । मधेशमा सशस्त्र समूहहरु सक्रिय हुन थालेका छन् । आन्दोलनसँगै सशस्त्र समूहले गतिविधि तीब्र बनाएको छ ।

नवलपरासीको जिल्ला सदरमुकाम परासीमा सोमवार अपरान्ह बम विस्फोट गराईएको छ । बम विस्फोटको घटनाले स्थानीयवासीलाई त्रसित बनाएको छ ।

परासीको लोकतान्त्रिक चोकमा सेतो झोलामा राखिएको शंकास्पद वस्तुको चेकजांच गर्दा प्रेशर कुकरमा जडान गरिएको टाईम बम फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी अर्जुन रानाभाटले जनाएका छन् ।

स्थानीयले दिएको खबर पश्चात आएको नेपाली सेना परासीको बम डिस्पोजल टोलीले बम डिस्पोज गराएको छ । झोलामा राखिएको सो वस्तु प्रेशर कुकरमा जडान गरिएको टाईम बम रहेको नेपाली सेना परासीका प्रमुख सेनानी पुर्ण प्रसाद ढकालले हुलाकी न्यूजलाई बताएका छन्  ।

झोलामा बमसंगै सशस्त्र भूमिगत सुमहको पर्चा भेटिएको डिएसपी रानाभाटले जनाएका छन् । पर्चामा अखिल तराई मुक्ति मोर्चा, मधेश मुक्ति टाईगर्स तराई र तराई कोबरा लेखिएको छ । तर डिएसपी रानाभाटले बमसंग राखिएको सो पर्चा पुरानो भएको बताएका छन् । परासीमा त्रास फैलाउनका लागि सो बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटना र पर्चा दुबैको चांज भैरहेको बताएको छ ।

बम फेला परेको लोकतान्त्रिक चोक नजिकै कार्तिक २१ गते रातीको समयमा एक मालवाहक ट्रकमा पेट्रोल बम प्रहार गरिएको थियो । पेट्रोल बमको प्रहारले भएको आगजनीले ना २ ख ९८७९ नं. को ट्रकमा समान्य क्षति पुगेको थियो । यस घटनालाई मधेश आन्दोलनसंगै जोडिएर हेरिनका लागि घटना घटाएको हुनसक्ने चर्चा छ । तर मधेशी मोर्चाले घटनाको जिम्मा लिएको छैन । ट्रकमा सिमेन्ट लोड गरीएको थियो । मधेश आन्दोलनको क्रममा भेटिएको बमबारे स्थानीयमा त्रास पैदा गरेको छ ।

नवलपरासीमा यस अघि कार्तिक महिनाको शुरुमै भारतीय सीमावर्ती गाविस गेर्मीको कार्यालय रहेको भवनमा आगजनी गरिएको थियो । प्रहरीले परासीमा फेला परेको बमको घटनालाई गेर्मी गाविसको आगजनीको घटनासंग जोडेर हेरेको छ । अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले गेर्मी गाविसको आगजनीको घटनालाई संकास्पद तवरले हेरेकै कारण अनुसन्धानमा राखेको छ ।

परासीमा बम विस्फोट गराउने घटनामा कुनै राजनीतिक दल, राजनीतिक समुह, कुनै भूमिगत समुह वा कुनै अधिकार खोज्नेहरुले गराएको नभई चन्दा आतंक मच्चाउनेहरुको संलग्नतामा भएको नवलपरासीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नल प्रसाद उपाध्यायले बताएका छन् । उनले भने त्रास फैलाएर चन्दा असुल्ने सोंच बनाएका केही अराजकतत्वहरुको कार्य भएको बताए ।
फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.