हुलाकी न्यूज,जनकपुरधाम: प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बालत्कारी, एसिड आक्रमणकारी जस्ता अपराधीलाई सार्वजानिक ठाँउमा झुन्डयाउनु पर्ने बताएका छन् । १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदेश सरकारको बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत कक्षा ८ का १५ सय २० छात्राहरुलाई साइकल वितरण समारोहलाई सोमवार सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, ‘संविधान संसोधन गरेर भएपनि त्यस्ता अपराधीहरुलाई सार्वजानिक स्थलमा झुन्डाउनु पर्दछ ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको समारोहमा हजारौं छात्राहरुका बिच मुख्यमन्त्री राउतले केहि वर्ष पछि प्रदेशका छोरी चेलीहरु प्रहरी निरिक्षक देखि डिआईजी सम्मको कुर्सीमा हेर्न सकिने दावी गरेका छन् । ‘जन्मिदै ३ लाखको बिमा, कक्षा आठमा साइकल’ उनले अगाडि भने, ‘निशुल्क लोकसेवाको तयारी र हरेक निकाय र अंगमा पचास प्रतिशत आरक्षण प्रदेश सरकारको यो योजनाको परिणाम केहि वर्ष पछि देखिनेछ ।’

प्रदेशसभा सांसद तथा जसपाका सचेतक परमेश्वर साहले कक्षा १२ मा अध्यन्नरत सम्पुर्ण छोरीचेलीलाई ल्यापटपको कार्ययोजना समेत तयार भइसकेको बताइ रहँदा छात्राहरुको तालीको गडगडाहट सुन्न लायक थियो । प्रदेशसभाकी उपसभामुख उपमा देवको अध्यक्षतामा भएको समारोहका बिच धनुषा जिल्लाको २७ विद्यालयका १५ सय २० छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

यस वर्ष प्रदेशमा २० हजार साइकल वितरणको लक्ष्य रहेकोमा नारी दिवसको अवसरमा सो साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको बताए । प्रदेश २ का सवै सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई साइकल वितरण गर्ने प्रदेश सरकारको तयारी छ ।

वक्ताहरुले साइकलले समाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गर्दै साइकलले छोरीहरुको स्कुल सम्मको पहुँचका साथै शारिरिक विकास, महेन्तको आत्मवलमा समेत वृद्वि हुने बताए । समारोहका बिच एसिड पिडित धनुषाकी आरती साहलाई सम्मान समेत गरिएको छ । यसअघि २०७५÷०७६ मा २ सय ६१ विद्यालयका १४ हजार छात्राहरुलाई सो अभियान अन्र्तगत साइकल वितरण गरिएको थियो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा, भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, जसपा नेपालका प्रमुख सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, सरस्वती चौधरी, प्रमिला दास, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.