हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश नंं २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश नंं २ सरकारले सबै माध्यमिक विद्यालयमा सङ्गिनी दिदीको रुपमा स्टाफ नर्सको भर्ना गर्ने अभियानको सुरुआत गरेको बताउनुभएको छ ।
उहाँले पहिलो चरणमा १ जिल्लामा १० जनाको दरले प्रदेशभरि ८० जना सङ्गिनी दिदीको रुपमा स्टाफ नर्सको भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको र प्रदेश सरकारले हरेक विद्यालयमा स्टाफ नर्स राख्ने बताउनु भयो । स्टाफ नर्सहरूले कक्षा ८ देखि १२ सम्मका छात्रालाई महिनावारीको समयमा आउने समस्याका बारेमा सहयोग गर्ने उहाँले बताउनु भयो ।
महोत्तरीको मटिहानी तथा महोत्तरी गाउँपालिकाका सामुदायिक विद्यालयका स्वास्थ्य तथा सरसफाइका फोकल शिक्षिकाहरूको सहभागितामा भएको तीन दिने प्रशिक्षणमा सिकेका कुरा व्यवहारमा उतार्ने सहभागीहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
रतौली युवा क्लबका कार्यकारी निर्देशक वैद्यनाथ चौधरीले खास गरेर महोत्तरी जिल्लाको नेपाल भारतको सिमानासँग जोडिएको विद्यालयहरूमा सरसफाइको अवस्था कमजोर भएकाले तीन पालिकाका सामुदायिक विद्यालयमा स्वास्थ्य तथा सरसफाइको कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा युनिसेफका सफाइ प्रमुख बोधनारायण श्रेष्ठ, महोत्तरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख जुली ठाकुर, मटिहानी नगरपालिकाका शिक्षा शाखा प्रमुखले संस्थाले कामकाज गरेपछि विद्यालयको सरसफाइमा व्यापक परिवर्तन भएको बताउनु भयो ।
रतौली युवा क्लबका अध्यक्ष साकीर खानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएका थियो ।
साभार-रेडियो नेपाल अनलाईनबाट



