रमेश ठाकुर, रौतहट, २३ कार्तिक । जारी मधेश आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै मुस्लिम समुदायले आईतबार रौतहटको सदरमुकाम गौरमा विशाल जनप्रदर्शन गरेका छन् । “हिन्दु मुस्लिम भाइ भाइ, मधेशको माग शिघ्र पुरा गर” भन्ने नाराका साथ मुस्लिम समुदायले रौतहटमा अहिलेसम्मकै सबैभन्दा ठुलो जनप्रदर्शन गरेका हुन् ।
विगत ३ सातादेखि लगातार रुपमा विभिन्न जातिय समुदाय तथा संघसंस्थाहरुले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जारी राखेको आन्दोलनमा जुलुससहित ऐक्यबद्धता जनाई रहेको क्रममा गौरमा आईतबार मुस्लिम समुदायको विशाल जनप्रदर्शन भएको हो ।
८६ दिनदेखि जारी मधेश आन्दोलनलाई उत्कर्षमा पुर्याउनको लागि मुस्लिम समुदायद्वारा गरिएको उक्त प्रदर्शनमा मानव सागर नै ओर्लिएको थियो । गाउँ गाउँबाट आएका पचास हजार भन्दा बढी प्रदर्शनकारीले सरकारको विरुद्धमा चर्काे नाराबाजी गर्दै घरेलु हाथहथियार तथा बाँसको भाट्टा सहित प्रदर्शन गरेका थिए ।
मुस्लीम मानवसागर ओर्लिएको विशाल जुलुसमा अहिलेसम्म कै सबैभन्दा धेरै प्रदर्शनकारी सहभागी रहेकोे मोर्चा आबद्ध सदभावना पार्टीका जिल्ला अध्यक्ष शेख जम्शैदले बताए ।
अहिले सम्मकै सबभन्दा ठूलो मानव सागर सहभागी रहेको उक्त विशाल जुलुसका कारण गौर–बैरगनिया जोड्ने पुलदेखि सहायक राजमार्ग (गौर–चपुर सडकखण्ड) को शुकदेव चोक सम्मको सडक अस्तव्यस्त बनेको थियो ।
जमिएते उल्माए नेपालका अध्यक्ष मौलाना अब्दुल अजिज सिद्धिकी र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका हाजी जिकरुल्लाहको नेतृत्वमा निकालिएको विशाल जनप्रदर्शनका कारण गौर नगरपालिकाको पूरै क्षेत्र भरिएको थियो ।
नेता नेपालको अभिव्यक्तिलाई गतिलो झापड
आईतवार गरिएको विशाल जनप्रदर्शन हालै मात्र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मधेश आन्दोलन ४ जना नेताको मात्र रहेको भनि दिएको अभिव्यक्ति प्रतिको गतिलो झापड रहेको गठबन्धनका सँयोजक हाजी जिकरुल्लाहले बताए । उनले भने “सरकारले मधेशको आन्दोलनलाई जहिले पनि सानो र केही व्यक्तिको आन्दोलन मात्रै ठानेकोले आज सरकारलाई देखाउन नमुनाको लागि मात्र प्रदर्शन गरिएको हो । मधेश आन्दोलनको वास्तविक रुप देखाउन अहिले बाँकी नै छ ।”
आईतबार नै आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै रौतहटका कानुन व्यवसायीले पनि ऐक्यबद्धता जुलुश प्रदर्शन गरेका थिए ।




