सुभाषप्रसाद साह, बारा, कार्तिक । नेकपा एमालेको गोप्य प्रशिक्षण कार्यक्रममै सहभागि एमालेका मधेशी युवा नेताहरुले लाल सलाम, जय मधेश, लाल मधेशको नारा लागाउँदै जारी मधेश आन्दोलनको सम्बोधन गर्न नेतृत्वलाई दबाब दिएका छन् ।

एमाले प्रशिक्षण बिभाग बाराको आयोजनामा गढीमाई नगरपालिकाको सिमरामा शनिबार राती अबेर सम्म भएको गोप्य प्रशिक्षण कार्यक्रममा सहभागि बारा र पर्साका युवा नेताहरुले मधेश आन्दोलन मधेशी नेपालीहरुले गरिरहेको र उनीहरुको माग जायज रहेकोले मधेशको सम्बोधन छिटोभन्दा छिटो गर्नका लागि पार्टी नेतृत्वसंग माग गरेका छन् ।

शान्तिपुर्ण आन्दोलनले मधेशको माग सम्बोधन नभएकाले बाध्य भएर नाकाबन्दी आन्दोलन भईरहेकाले एमालेका नेतृत्व बर्ग र केही राष्ट्रिय मिडियाले त्यसको गलत प्रचार प्रसार गरेर सम्पुर्ण मधेशीलाई बदनाम गरिएको प्रति उनीहरुले आक्रोश पोखेका थिए । गैर एमाले पार्टीमा रहेका मधेशीका साथै एमालेमै रहेका मधेशीहरुलाई समेत अधिकार बिहिन बनाउँने सडयन्त्रका साथ आएको संबिधानमा मधेशीको हकअधिकार कटौति गर्दै घोषणा भएको उनीहरुको भनाई रहेको थियो ।

एमाले, काँग्रेस, एमाओबादी सहितका दलमा रहेका पाहाडी नेताहरु एकजुट भएर अन्तरिम संबिधान २०६३ मा उल्लेख गरिएका अधिकारहरु समेत कटौती गर्दै मधेश र मधेशीलाई शोषण गर्दै सधैका लागि राजनीतिक दास बनाउँने हिसाबले संबिधान ल्याएकोले मधेशी मोर्चाको माग अनुसार नै संबिधान संशोधन गर्नुपर्ने पक्षमा आफ्ना बिचार राखेका थिए ।

एमालेका नेताहरुको संकिर्ण सोच, बिचारका साथै अनैतिक अभिव्यक्तिले गर्दा मधेश आन्दोलन लामो भएर एमालेले तराई मधेशमा ठुल्लो क्षति व्यवहोरी रहेको उनीहरुले बताए । जे मन लाग्यो त्यही बोलेर खोक्रो राष्ट्रबादी बन्ने होडबाजी एमालेमा बढी देखिएकाले आफ्ना अभिव्यक्ति सच्याएर दिन नेतालाई उनीहरुले आग्रह गरे ।

पुर्व पश्चिम हुलाकी राजमार्गको ११ सय ५५ किलोमिटरमा मानव सांग्लो जुलुश प्रदर्शन गरेका मधेशीलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माखे सांग्लो भन्ने अभिव्यक्ति दिएपछि एमालेकै युवा नेताहरुले ओलीलाई माखे प्रधानमन्त्रीको संज्ञा दिएका थिए । जारी आन्दोलनको माग सम्बोधन गर्नुको साटो पार्टीकै मुख्य नेताहरुले दिने अभिव्यक्तिले मधेश आन्दोलन झन कडा हुदै गएकोले त्यसको असर एमाले पार्टीमा समेत परेका बिस्तृत रुपमा उनीहरुले उठाएका थिए ।

नेपाली कम्युनिष्ट आन्दोलन, मधेश समस्या र नेपाल भारतको सम्बन्धनको बारेमा युवाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम नाम दिएको सो कार्यक्रममा पार्टीका उपमहासचिव घनश्याम भुषाल, पोलिटव्युरो सदस्य शत्रुधन महतो, केन्द्रीय सदस्य दिनेश राई, पुर्वमन्त्री पुरुषोत्तम पौडलको बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागि युवाहरुलाई बोल्नमा रोक लगाउँन थालेपछि युवाहरुले पटक पटक हुटिङ्ग गर्न थालेपछि सधै भाषण गर्ने नेताहरु सहभागि युवा नेताहरुको कुरा सुन्न बाध्य भएका थिए । कार्यक्रम अवधिभर मधेश आन्दोलनकै बारेमा बिशेष छलफल भएको थियो । कार्यक्रममा मधेशी युवाहरुलाई सहभागि गराएर उनीहरुबाटै जारी मधेश आन्दोलनको प्रतिकार गराउँने र मधेश आन्दोलन बिथोल्ने आन्तरिक रणनीति भए पनि युवा नेताहरुले सहभागि मुख्य नेताहरुकै दिमाग वास गर्दै मधेश आन्दोलनको सम्बोधन हुनुपर्नेमा जोड दिएका थिए ।

युवा नेताहरुको कुरा सुनेपछि सहभागि नेताहरुले मधेश आन्दोलनको जायज माग सम्बोधन गर्ने आश्वासन दिए । वास्तवमा केही कुरा संबिधानमा राख्न छुटेकाले त्यसलाई संशोधन गर्दै समाबेश गर्ने प्रतिबद्धता उनीहरुले व्यक्त गरे । आन्दोलनरत पक्षसंग बार्ता गरी उनीहरुको सहमतिमै संबिधान संशोधन गर्ने र मधेशको मागहरु समाबेश गर्ने उनीहरुले बताए । कार्यक्रम प्रशिक्षण बिभागका प्रमुख मनोज पौडेलको अध्यक्षतामा भएको थियो । – कलैया लाइभ

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.