हुलाकी न्यूज, जनकपुरधाम, २२ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषाले यस वर्ष दिपावली र छठ सामान्य रुपमा पुजापाठ गरी मात्र मनाइदिन धनुषावासीलाई आग्रह गरेको छ ।
यससँगै मधेशी मोर्चा, जनकपुर उद्योग वाणिज्य संघ, राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन र संयुक्त युवा संघर्ष समितिले संयुक्त रुपमा दिपावली र छठको अवसरमा सर्वसाधारणलाई केही राहत दिन आंशिक रुपमा बजार खोल्ने निर्णय पनि गरेका छन् ।
शनिबार सबैले सामूहिक रुपमा विज्ञप्ति जारी गर्दै चाडपर्वको बेला सर्वसाधारणको सहुलियतलाई ध्यानमा राख्दै बजार र वित्तिय संस्था खुल्ला गर्ने निर्णय गरेको जनाएका हुन् । कार्तिक २२ गते आईतबारदेखि मंसिर १ गते मंगलबारसम्म बजार र वित्तिय संस्था खुल्ला रहनेछन् ।
मोर्चाले नाकाबन्दी, राजमार्ग अवरुद्ध र आमहड्तालका अन्य कार्यक्रम भने यथावत रहने बताएको छ । मंसिर २ गते बुधबारदेखि बजार तथा वित्तिय संस्था फेरि पुर्णरुपले बन्द हुने विज्ञप्तिमा जनाइएको छ ।




