रंजन भण्डारीे, जलेश्वर, २१ कार्तिक । कालोबजारी गरि मधेश आन्दोलनलाई प्रभावहिन बनाउन खोज्ने उपर मधेशी मोर्चा र आम जनसमुदाय कसिँदै गएका छन् । महोत्तरीको साँढा गाविसमा शनिवार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्वमा साँढाका स्थानीयहरुले भारी परिमाणमा पेट्रोल, डिजेल, पटाखालगायतका करिब ४५ हजार मोल बराबरको सामान जफत गरी आगो लगाई नष्ट गरेका छन् ।
मोर्चाको नेतृत्वमा साँढाका स्थानीयहरुले दशैंपछि विशेष कडाई गर्दै आईरहेकोमा शनिवार सय लिटर पेट्रोल र डिजेलका साथै बर्दिवास लग्दै गरेको पटाखाहरु जफत गरी नष्ट गरेका हुन । यससँगै साँढाका स्थानीयहरुले हजार लिटरभन्दा बढी पेट्रोल र डिजेलका साथै करिब २ लाख बराबरको ईलेक्ट्रोनिक्सका सामानहरु र पटाखाहरु नष्ट गरिसकेका छन् ।
यता एकडारामा समेत मोर्चाको नेतृत्वमा स्थानीयले बजारमै पण्डाल राखी नाकाबन्दी गरेका छन् । रातीको समयमा कालोबजारी गर्नेहरु विशेष सकृय रहने गरेकोले एकडाराका स्थानीयहरुले चौबिसै घण्टा नाकाबन्दीमा सकृय रहि चारसय लिटर पेट्रोल र डिजेल नष्ट गरेका छन् ।
यस्तै भिठामोड, मटिहानी, सम्सी, पिपरा, सुगा, मनरा, सरपल्लोलगायतका ठाउँमा मोर्चाले कडाई गर्दा कालोबजारीमा केहि कमि आएपनि अझै सकृयताको आवश्यक्ता रहेको र सोही बमोजिम कडाई गर्दै गईरहेको मोर्चाले जनाएको छ ।
दशैंयता विशेष गरी ग्रामिण भेगमा नाकाबन्दीले प्रभाव पारेको र महोत्तरीका सबै नाकाहरुबाट केहि दिनमै हजारौ लिटर पेट्रोल र डिजेलका साथै अन्य सामानहरु नष्ट गरिसकिएको छ ।




