हुलाकी न्यूज,जनकपुरधाम :प्रदेश २ का प्रदेशसभा सदस्य दिलिप कुमार साहले आममाफी पाएका छन् ।
बहुविवाह मुद्दामा दोषी ठहर भएका उनले एकदिन पनि कैद भुक्तान नगरी आममाफी पाएका हुन् ।उनी सत्तारुढ दल नेकपाको तर्फबाट सिराहा–४ (क) का सांसद हुन् ।श्रीमती संगीतादेवी यादवले दिएको मुद्दामा उनलाई जिल्ला अदालत धनुषाले एक वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।
उच्च अदालतले समेत फैसला सदर गरेको थियो ।३ जेठ ०७२ मै उनलाई अदालतले दोषी ठहर गरेकोमा हालसम्म उनी एक दिन पनि जेल बसेका छैनन्, बरु राजनीतिक पहुँचका आधारमा उन्मुक्ति पाएका छन् ।बहुविवाहमा सजाय पाएकालाई राज्यले पनि माफी दिन नपाइने कानुन थियो ।तर, नेकपा नेता साहलाई आममाफी दिन सरकारले फौजदारी कसुर (कैद कट्टा) नियमावली नै संशोधन गरेको छ । त्यससम्बन्धी अपराधमा जेल परेका ८४ जना पनि सँगै छुटेका छन् ।



