हुलाकी न्यूज,सप्तरी : विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अपराधीलाई पक्राउ गर्न सप्तरी प्रहरी सफल भएको छ ।

चालु आर्थिक वर्ष २०७७र७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म फरार रहेका अपराधीलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

जबरजस्ती करणीका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका–५ बस्ने २० वर्षीय मो. सहादतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार फरार प्रतिवादीमा कुटपिट मुद्दाका सर्वाधिक छन् भने सवारी ज्यान, कर्तव्य ज्यान, गाली बेइजती, ठगी, जबरजस्ती करणी, लेनदेनलगायत मुद्दाका फरार प्रतिवादी पनि रहेको तथ्याङ्कमा उल्लेख छ ।

पक्राउ परेका फरार प्रतिवादीबाट ६५ वर्ष छ महिना २२ दिन कैद बक्यौता तथा जरिवानाको बक्यौता रु १२ लाख ७७ हजार ७२६ असुली गरिएको जिल्ला प्रहरी कार्यालय प्रनाउ साहको भनाइ छ ।

पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको उनले बताए ।

त्यस्तै यस अवधिमा भन्सार छली गरी भित्र्याइएका ८८ मोटरसाइकल, आठ अटोरिक्सा, पाँच ट्र्याक्टर, तीन पिकअप तथा दुई टेम्पो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

सवारीसाधनको रु दुई करोड ३४ लाख १७ हजार ५७२ अनुमानित मूल्याङ्कन गरी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस अवधिमा जिल्लामा विभिन्न अपराधका ४३७ मुद्दा दर्ता भएका छन् ।

यो आँकडा गत आवको तुलनामा कम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी सप्तरी प्रहरीले भारतबाट मोटरसाइकलमा तस्करी गरी ल्याउँदै गरेको ६४१ थान विभिन्न तयारी कपडा नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कडोरबोनाको टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिकास्थित बलान खोला पुलमा जाँच गर्ने क्रममा तयारी कपडा नियन्त्रणमा लिएको हो ।

प्रहरीले तस्करीका कपडा र तस्करीमा प्रयोग भएका तीन वटा मोटरसाइकसहित दुई तस्करलाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.