रमेश ठाकुर, रौतहट, २१ कार्तिक । तराई मधेशमा जारी आन्दोलनप्रति समर्थन जनाउँदै रौतहटका थारु समुदायले शनिबार सदरमुकाम गौरमा विशाल जनप्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री केपी ओलीको पुतला पनि दहन गरेका छन् ।

विगत ८५ दिनदेखि तराई मधेशमा आन्दोलन चलिरहँदा पनि सरकारले थारु र मधेशीको मागप्रति चासो नदेखाएको र आन्दोलनको कारण मधेशका नागरिकको जनजिवन कष्टकर हुँदा पनि सरकारले कुनै वास्ता नगरेको भन्दै आक्रोशित थारु समुदायले गौरमा विशाल प्रदर्शन गरेका हुन् ।

थारु मधेशी भाई भाई भन्दै गौरको गढवा बसपार्कदेखि सुरु भएको प्रदर्शनमा हजारौ मानिसहरुको सहभागिता रहेको थियो । शनिबार दिउँसो सुरु भएको प्रदर्शनको क्रममा आन्दोलनकारी थारुहरु निकै आक्रमक देखिएका थिए । उनीहरुले सरकारविरुद्ध चर्काे नाराबाजी गरेका थिए ।
मधेश तथा पहाडका बुद्धिजिवीहरुलगायत अन्य सर्वसाधारणले समेत मधेशको माँग जायज भनिरहँदा पनि अहिलेको सरकार मधेशका जायज माँगहरुको बारेमा गम्भीर नदेखिएको उनीहरुको आरोप थियो ।

शनिबार थारुसँगै चौरसिया, निषाध समुदायलगायत विद्यार्थीहरुले पनि प्रदर्शन गरेका छन् ।

उनीहरुले गौरको मधेश क्रान्ति चोकबाट प्रदर्शन सुरु गरेका थिए । निकम्मा सरकार मुर्दावाद, मधेशी एकता जिन्दाबाद, थारु मधेशी भाई भाई, मधेशको मांग पुरा गर, समानुपातिक सिद्धान्त लागु गर, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर लगायतका नारा लगाइएको प्रदर्शन नगर परिक्रमा गरी नेपाल भारत सीमास्थित धर्ना स्थलमा गएर धर्नामा परिणत भएको थियो ।

गौरमा केही दिन यता सँधैजसो जातजाति र समुदाय विशेषका मानिसहरुको प्रदर्शन हुनेगरेको छ । दिनहुँ पचास हजारको हाराहारीमा प्रदर्शनकारीहरु सडकमा निस्कने गरेका छन् । मधेशीहरु बीचको एकता देखाउनका लागि गरिएको उक्त प्रदर्शनमा दिनहुँ बाक्लो मानिसहरुको उपस्थिति हुने गरेको छ । आन्दोलन सुरु गरेको ३ महिनाभन्दा लामो समय भइसक्दा पनि सरकार गम्भीर नभएपछि प्रत्येक दिन विभिन्न समुदायका मानिसहरुले चर्काे नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

Barai chaurasiya samaj

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.