हुलाकी न्यूज, काठमाडौं :
पूर्व राजा ज्ञानेन्द्र शाहले सबैले आत्म समिक्षा गर्ने बेला भएको बताएका छन्। प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा शुभकामना सन्देश दिँदै शाहले प्रजातन्त्र आएको सत्तरी वर्षपछि पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त र ग्रस्त रहेको जनाएका छन्।

‘प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि व्यवस्था हो,’ पूर्व राजा शाहबाट जारी सन्देशमा भनिएको छ, ‘प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो। जनताको आस्था, चाहना र जनभावना अन्तत अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन, बटारिन्न।’

निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपाली जनताले गरिरहेको उल्लेख गर्दै संदेशमा भनिएको छ, ‘प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणालीमात्र होइन, यो सामाजिक जीवन पद्धति पनि हो र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटूट रहन्छ।’

सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्म समीक्षा गर्ने बेला भएको उनले जनाएका छन्। ’राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समर्थ भएका छौं?,’ शाहले प्रश्न गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.