हुलाकी न्यूज, काठमाडौं, २१ कार्तिक । डा. बाबुराम भट्टराईको नेतृत्वमा गएका नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जारी मधेश आन्दोलनलाई तत्काल संबोधन गर्न स्मरण पत्र बुझाएका छन् ।
शनिबार ४७ जना नागरिक समाजका अगुवाले प्रधानमन्त्री ओलीलाई बुझाएको स्मरण पत्रमा तीन महिनाभन्दा लामो समयदेखि चलिरहेको मधेश आन्दोलन नियन्त्रणभन्दा बाहिर जानसक्ने भन्दै चाँडो संबोधन गर्न माग गरेका हुन् ।
उनीहरुले मधेशमा निहत्था मानिसहरु मारिएका र आन्दोलन नियन्त्रणभन्दा बाहिर जाने खतरा देखिएको भन्दै प्रधानमन्त्रीलाई सचेत गराएका छन् । स्मरणपत्रमा संविधान निर्माणपछि मधेशी, थारु, आदिवासी जनजाति लगायतले व्यक्त गरिरहेको असन्तुष्टिलाई बेलैमा सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।
त्यस्तै उनीहरुले जारी मधेश आन्दोलन र नाकाबन्दीलाई अलग अलग रुपमा बुझ्न सरकारलाई सुझाव दिएका छन् ।
उनीहरुले कसैलाई एउटालाई राष्ट्रवादी र अर्कोलाई अराष्ट्रवादी कित्तामा राखेर नहेर्न आग्रह गर्दै आफुलाई मात्र अब्बल राष्ट्र्वादी ठान्ने सोचाईमा परिवर्तन ल्याउन माग गरेका छन् ।
स्मरणपत्रमा भनिएको छ, ‘कथित राष्ट्रवादको पुरानो सोच, आफू अब्बल दर्जाको राष्ट्रवादी र अर्को अराष्ट्रवादी भन्ने दोषारोपणको आँखाबाट होइन, आजको वास्तविकताबाट हेर्न र मनन गर्न सक्ने प्रगतिशील राष्ट्रवादको प्रवर्द्धन गर्दै, आफ्नो क्षणिक सत्तास्वार्थमा आधारित कहिले कसैका सामु लम्पसार पर्ने र कहिले एक अर्काका विरुद्ध एक अर्कालाई उभ्याउने बचकना खेल र भूमिकाबाट मुक्त हुँदै स्वाधीनता, स्वतन्त्रता र समानताका आधारमा दुई विशाल छिमेकीहरुको यो वा त्यो राष्ट्रको निर्भरता वा परनिर्भरताका आधारमा होइन, अन्तरनिर्भरताका आधारमा राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राख्दै व्यवहार गर्ने संस्कृतिको निर्माण गर्न जरुरी छ ।’
स्मरणपत्रमा जनताका असन्तुष्टिलाई बेलैमा सम्बोधन गर्न, राष्ट्रिय एकताको भावना पैदा गर्न, दिगो शान्ति बहाल गर्न र दुई छिमेकीवीचको सम्वेदनशीलतालाई ख्याल गर्दै उनीहरुको आर्थिक वृद्धिको अवरसरबाट फाइदा लिएर मुलुकको सम्वृद्धिमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै अभाव, महंगी र कालोबजारी नियन्त्रण गर्न तथा भूकम्पपछिको पुनर्निर्माणमा ध्यान दिन पनि सरकारसँग आग्रह गरिएको छ ।



