वीरगंज, २१ कार्तिक । काठमाण्डुका जनतालाई केवल तेलका ट्यांकर र ग्यासको मात्र मतलब छ । तराई ८० दिनदेखि बन्द छ । मानिस खान नपाएर मर्न लागिसके । कामधन्दा चौपट छ । खोइ के गरेर बसेको छ काठमाण्डु ?
८० दिनसम्म तराई बन्द हुँदासमेत काठमाण्डुका ठूला मिडियाको आँखा पुगेन । हाम्रो पनि पहुँच भएन । त्यसैले आन्दोलन सोचेजस्तो सफल भएको छैन । मधेसी समुदायको ठूलो मिडियामा लगानी नभएर पनि यस्तो भएको हो । ठूला सबै मिडियाप्रति हाम्रो आपत्ति छ । यहाँ नेपाली च्यानल ‘ब्ल्याक आउट’ गरे हुन्छ ।
सबैभन्दा ठूलो चिन्ता बालबालिकाको भविष्यको छ । यहाँका बालबालिका तीन महिनादेखि बिद्यालय जान पाएका छैनन् । विद्यार्थीको प्रयोग प्रहरीलाई ढुंगा हान्ने काममा भइरहेको छ । मधेसका विद्यार्थीले पढ्न बिर्सिसके । सबै अभिभावक चिन्तित छन् ।
काठमाण्डुलाई सरकार कसको बनाउने, को प्रधानमन्त्री, को राष्ट्रपति, को मन्त्री भन्ने चिन्ता छ । सत्ताको मात्रै लडाँइ छ । वार्ताको माध्यमबाट समस्या समाधान गर्नुको साटो सत्तामा को–को जाने भन्ने मारामार छ । अनि समस्या कसरी समाधान हुन्छ ?
तराई बन्दका कारण सरकारी कार्यालय बन्द छन् । बन्दलाई समर्थन गरे पनि नगरे पनि कर्मचारीले काम गर्न छोडिसके । गर्न सक्ने र हुने काम भएपनि ‘बन्द छ’ भनेर हिँड्छन् । हुने काम पनि गर्दैनन् । व्यापारीहरू ‘बन्द ठीक छैन’ भन्छन् । तर, उनीहरूलाई जति घाटा लागे पनि बन्दको समर्थन नगरी सुखै छैन । सबै बन्दको समर्थनमा छन् । ठूला व्यापारीले अर्बौको घाटा सहनुपरे पनि ‘समस्याको समाधान हुन्छ’ भनेर मन बुझाएका छन् । साना व्यापारीले भने पेसा परिवर्तन गर्दैछन् । –नयाँ पत्रिकाबाट



