हुलाकी न्यूज, काठमाडौंः
सरकारले भीआईपीको सुरक्षा कटौती गरेको विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्नविचार गर्न पत्राचार गरेका छन्।

पूर्वराजा शाहका स्वकीय सचिव सागरप्रसाद तिमिल्सिनाले गृह मन्त्रालयलाई एक पत्र लेख्दै नयाँ कार्यविधिबारे पुनर्विचार गर्न आग्रह गरेका हुन्।

तिमिल्सिनाले नयाँ कार्यविधि अनुसार सबै राजपरिवारका सदस्यहरूको सुरक्षाका लागि पर्याप्त नहुने भएकाले सुरक्षाकर्मीको संख्याको लागि पुनर्विचार गरिदिन भन्दै गृह मन्त्रालयमा पत्र पठाएका छन्।

हाल पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि ९९ जना सुरक्षाकर्मी खटाइदैं आइएको छ। जसअनुसार पूर्वराजा तथा पूर्वरानीका लागि २५, पूर्व युवराज्ञीको लागि १५, पूर्व मुमा बडामहारानीका लागि ९, सवारी चालक १० र नागार्जुन सुरक्षा बेसका लागि ४० जना सुरक्षाकर्मी हाल सुरक्षाका लागि खटिँदै आइरहेका छन्। नयाँ कार्यविधिले तोकेको मापदण्ड अनुसार भने पूर्वराजपरिवारका लागि १६ जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख छ।

मन्त्रिपरिषदबाट पारित अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थासम्बन्धी कार्यविधिमा नपरेका पूर्व तथा बहालवाला व्यक्तिका अंगरक्षक एवं निवास सुरक्षामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई फिर्ता बोलाउन थालिएको छ।

मन्त्रिपरिषद्ले केही समयअघि पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व राजा, पूर्व गृहमन्त्री, पूर्व प्रधानन्यायाधीश लगायतका विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ पारित गरेको थियो।

स्वीकृत नयाँ कार्यविधि अनुसार पूर्वराष्ट्रपतिले अब २१, पूर्व प्रधानमन्त्रीले १८, पूर्वराजाले १६, पूर्व उपराष्ट्रपतिले ११ र पूर्व गृहमन्त्रीले दुई जना सुरक्षाकर्मी राख्न पाउने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.