हुलाकी न्यूज, जनकपुर, २० कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषाले जिल्लामा अत्यावश्यक औषधिहरुको अभाव भएकाले औषधि ल्याउने सवारीसाधनको आवागमनमा छुट दिने जनाएको छ । मोर्चाको शुक्रबारको बैठकले औषधि ओसारपोसार गर्ने गाडीलाई बिना कुनै अवरोध सञ्चालन गर्न दिने निर्णय गरेको हो । तर त्यस्तो गाडी दिनको समयमा मात्र चलाउन पाइनेछ ।
मोर्चाले औषधिको गाडी चेकजाँच गर्दा औषधिबाहेक अन्य सामान पनि ओसारेको पाएमा कडा कारवाही गरिने चेतावनी पनि दिएको छ । औषधि ल्याउने गाडीले औषधिको ब्यानर राख्नुपर्ने छ ।
मोर्चाले रातको समयमा सामान ओसारपोसार, डिजेल र पेट्रोलको तस्करी तथा गाडी चलाएको पाइएकाले अनुगमन बढाउने पनि जनाएको छ । बन्द अवज्ञा गरेर सामान तस्करी गरेको पाइए मोर्चाले कारवाही गर्ने र त्यसको जिम्मेवारी मोर्चाले नलिने मोर्चाको चेतावनी छ ।
बैठकका निर्णय सार्वजनिक गर्न मोर्चाले जारी गरेको विज्ञप्तिमा आन्दोलनका कार्यक्रमहरु पनि निर्धारित गरिएको छ ।




