हुलाकी न्यूज,रौतह : रेल्वेले अधिग्रहण गरेको जग्गाको मुआवजा नदिएको भन्दै रौतहटको चन्द्रपुर नगरपालिका–८ का किसानहरुले रेल्वेको काम रोकेका छन्।
मेची–महाकाली रेलमार्गको बर्दिबास–निजगढ खण्डस्थित रौतहटको सन्तपुर नजिक ४ नम्बर प्याकेजअन्तर्गत खेतका किसानले मुआब्जा नदिएको भन्दै बिहीबार काम रोकेका हुन्। जग्गाधनीले मुआब्जाको रकम पाएका छैनन् । तर ठेकेदारले धमाधम काम सुरु गरेपछि किसानहरु आक्रोशित छन्।केहीको एक महिनाअघि नै मालपोतलबाट रेल्वे विभागको नाममा जग्गा नामसारी भइसकेको छ।
तर हातमा एक पैसा पनि नपरेको किसान कृष्ण चौधरीले बताए ।रेल्वेको नाममा पास भइसकेको लालपूर्जा बोकेर खेतमै उनीहरुले काम अवरोध गरेका थिए ।‘जग्गा पास भएकै दिन मुआब्जाको रकम पाइन्छ भन्यो । तर अहिलेसम्म हातमा एक पैसा परेको छैन,’ उनले भने,‘खेतमा धमाधम काम भइरहेको रहेछ । अब पैसा नपाएसम्म कामै हुन दिन्न ।’
उनको ८ कठ्ठा जग्गा रेल्वेमा परेको छ । समयमा मुआब्जा नपाएको भन्दै तीन महिनाअघि किसानले गहुँ, मकै, मसुरोलगायतका बाली लगाएका थिए ।अहिले बाली भित्र्याउन नपाउँदै रेल्वेले धमाधम काम थालेको छ । त्यहाँ कुनै अप्रिय घटना हुन नदिन ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट बिहानदेखि सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
रेल्वे विभागका डिई देबेन्द्र साहले मुआब्जा वितरणमा ढिला हुन गएको स्वीकारेका छन् । ‘किसानलाई दिने मुआब्जाको रकम नभएकै कारण ढिला हुन गएको हो ।अर्थ मन्त्रालयबाट निकासा हुन सकेको छैन,’ उनले भने,‘अबको एकसाताभित्र रकम निकासा हुन्छ । त्यसपछि किसानलाई बोलाएरै भुक्तानी गर्छौं ।’उनले ८० प्रतिशत किसानको मुआब्जाको रकम वितरण भइसकेको दाबी गरे ।उक्त प्याकेज लामा गोल्डेन बिरुवा जेभीले ठेक्का सकार गरेको हो ।



