
हुलाकी न्यूज, विराटनगरः जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले कांग्रेस र कम्युनिष्ट पार्टीहरुबाट मधेश मुक्ति नहुने बताएका छन्।
मोरङमा आयोजित पदाधिकारी भेटघाट तथा प्रशिक्षण कार्यक्रममा डा.राउतले कांग्रेस र कम्युनिष्ट पार्टीहरु डेट एक्सपाइर भइसकेकोले मधेशको मुक्ति गर्न नसक्ने बताएका हुन्। कांग्रेस कम्युनिष्टले नै मधेशीमाथि शोषण दमन गरेको आरोप लगाउँदै डा.राउतले भने,‘मधेशीहरुलाई भूमिहिन बनाउने, मधेशीको अधिकार खोस्ने यिनीहरु नै हुन्।’
मधेशवादी भनिएका दलका नेताहरु पनि कालिया नाग भएको दोहर्याउँदै डा.राउतले भने,‘यिनीहरुले १४ वर्षदेखि मधेशीको मतसँग खेलवाड गर्दैछन्। यिनीहरुलाई जति दुध पिलाए पनि यिनीहरुले मधेशीलाई नै डस्दै आएका छन्।’
अहिले पनि लोकतन्त्र खतरामा रहेको भन्दै मधेशीहरुलाई काठमाडौं लग्ने गरेको जिकिर गर्दै डा.राउतले भने,‘यिनीहरुले अहिलेसम्म लोकतन्त्रको रक्षा गर्न नसकेका असफल नेतृत्व हुन्। यिनै असफल नेतृत्वलाई पुनः चुनाव जिताउनु हुँदैन। जनताले दुई तिहाई दिएपनि यिनीहरु असफल भएका छन्।’
अबको निर्वाचनमा जनमत पार्टीलाई मत दिएर नेता राज नभई जनता राज कायम गर्न डा.राउतले आग्रह गरे।
कार्यक्रममा स्थानीय झाकी पनि प्रस्तुत गरिएको थियो।



