अमरेन्द्र कुमार यादव, महेन्द्रनगर, २० कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको अनिश्चितकालीन बन्द तथा नाकाबन्दीका कारण महेन्द्रनगर बजारमा औषधिको अभाव भएको छ ।
दैनिक औषधि सेवन गर्नुपर्ने बिरामी मर्कामा परेका छन् भने आन्दोलनको कारण महेन्द्रनगरका निजी अस्पताललगायत सरकारी अस्पतालको सेवा पनि प्रभावित भएको छ ।
आमहड्तालका कारण हृदयरोग, उच्च रक्तचाप, मधुमेह, बच्चाहरुको औषधिको बजारमा अभाव भएको छ । एसिलक एम्पुल, ज्वरोका औषधि, एन्टिबायोटिक, स्लाइनलगायतका अतिआवश्यक औषधिको बजारमा अभाव भएको सुजिता मेडिकल हलका संचालक संजय साहले जानकारी दिए ।
अक्सिजन, एन्टीवायोटिक, नरमल सलाइन, गर्भवतिलाई लगाईने टिटि सुई, दस्मुलारिष्ट, एन्टिबायोटिक सिरप मोनोरोललगायत अन्य प्रकारका औषधिहरुको अभाव भएको साह मेडिकल महेन्द्रनगरका संचालक बैजू साहले जानकारी दिए ।
मधेशी मोर्चाको आमहड्ताल विगत ८४ दिनदेखि जारी रहँदा सबैजसो क्षेत्रमा समस्या उत्पन्न भएको छ ।




