हुलाकी न्यूज,काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारजन्य विषयमा छानबिन गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्षतालाई मूलमन्त्र बनाएर छानबिन गर्न आग्रह गर्नुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा बुधबार यहाँ सम्बोधन गर्नुहुँदै उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । भ्रष्टाचार नियन्त्रणमा सबै नागरिकको उत्तिकै महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो । भ्रष्टाचार नियन्त्रणका लागि सबैको साझा प्रतिबद्धताले नै मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिन्छ उहाँले थप्नुभयो, “भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन भने राज्यका स्रोत दुरुपयोग भई राज्य प्रणालीलाई जर्जर बनाउँछ ।”

भ्रष्टाचारप्रति शुन्य सहनशीलता कायम गर्न सरकार तथा समग्र आमनागरिक त्यसमा लाग्न आवश्यक रहेको चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “आयोगले छानविन गर्दा निष्पक्षताको मूल मन्त्रलाई कायम गर्नुपर्छ ।” भ्रष्टाचार नियन्त्रणमा राज्यले लिएको रणनीति प्रभावकारी कार्यान्वयन गर्नमा आयोगलाई लाग्न उहाँले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै निकायका प्रतिनिधिहरु क्रियाशील भएमा मुलुकको भ्रष्टाचार अन्त्य गर्नमा सहज हुने बताउनुभयो । कानुनको नजरमा सबै बरावर भएकाले दोषीलाई कानुनअनुसार कडा कारवाही हुने बताउनुभयो । आयोगले गरेको सफलता सकारात्मक भए पनि आयोगले दायर गरेको मुद्दा फरक पर्नेगरी दायर गर्न नहुने बताउनुभयो । निर्दोष मान्छेमाथि मुद्दा दायर भएमा त्यसले प्रतिकूल असर पार्ने भन्दै उहाँले आयोगलाई त्यसमा सचेत हुन आग्रह गर्नुभयो ।

आयोगले निष्पक्ष र गहिरो ढङ्गले अध्ययन गरेर मुद्दा दायर गर्दा आयोगप्रति जनताको विश्वास थप बढ्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “अख्तियार दुरुपयोग आयोगको आँखा नपुगेको ठाउँ कँही छैन, त्यस्तो त्रास अपराधीमा पु¥याउनुपर्छ ।” आयोगले अहिलेसम्म गरेको काम प्रशंसनीय भएको भन्नुहुँदै प्रधानमन्त्री ओलीले थप क्रियाशील भएर काम गर्न आग्रह गर्नुभयो । भ्रष्टाचार नियन्त्रण समाजलाई स्वच्छ राख्न, विकास प्रक्रियालाई स्वस्थ बनाउनलाई आवश्यक छ उहाँले भन्नुभयो ।

देशभक्त र स्वच्छ मानिस जन्मिन्छन् समाजमा, सबै राजनीतिज्ञ, कर्मचारी भ्रष्टाचारी हुँदैनन् प्रधानमन्त्री ओलीले थप्नुभयो, “भ्रष्टाचार हाम्रो साझा शत्रु हो, त्यसप्रति हाम्रो शून्य सहनशीलता छ, सहँदैनौं ।” आफूलाई भ्रष्टाचारबाट मुक्त राख्ने संकल्प सबैले गरौं । अरुलाई भ्रष्टाचारी हुन नदिनेगरी मनोभावना परिवर्तन गर्नेतिर भूमिका खेलौं उहाँले भन्नुभयो । सरकारले भ्रष्टाचार अन्त्यका लागि काम गरिरहेको उहाँले प्रष्ट पार्नुभयो ।

भ्रष्टाचारमुक्त देश, सभ्य मानिस भएको देश, पारदर्शीता भएको देश भनेर नेपाललाई चिनाउन आवश्यक रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “भ्रष्टाचार अन्त्य गर्न, आयोगलाई सक्षम बनाउनका लागि सरकारको तर्फबाट सबै प्रकारको सम्भव सहयोग हुनेछ ।” कर्तव्य पालनाको सन्दर्भमा कुनै त्रासबाट प्रभावित आयोग नहुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगले छानबिन तथा कारवाहीमा कसैप्रति विभेद नगरिएको बताउनुभयो । राज्यलाई अग्रगमनमा लग्ने प्रयास धेरै भएपनि अझै सन्तोषजनक काम हुन नसकेको चर्चा गर्नुहुँदै प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्नमा आयोगि क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो । कानूनतः दण्डनीय काम गर्ने जोकोहीलाई कारवाही हुने उहाँले चेतावनी दिनुभयो ।

साे अवसरमा प्रमुख आयुक्त प्रेम राइले अख्तियाले सार्वजनिक जग्गा हडप्ने तथा राज्यलाइ नाेक्सान गर्ने खालका कार्यकाे निश्पक्ष छानबिन गरी दाेषीलाइ कानुनी दायरामा ल्याइने बताउनुभयाे । सो अवसरमा उत्कृष्ट अनुसन्धानकर्तालाई राष्ट्रपति भण्डारीले सम्मानित गर्नुभएको थियो । उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा दुई जना र उत्कृष्ट अख्तियर सम्मानबाट १९ जना सम्मानित हुनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.