रमेश ठाकुर, रौतहट, २० कार्तिक । तराई मधेशमा जारी आन्दोलनप्रति समर्थन जनाउँदै रौतहटका शिक्षकहरुले शुक्रबार सदरमुकाम गौरमा ऐक्यबद्धता रैली प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघ, रौतहटको ब्यानर मुनि रौतहटका शिक्षकहरुले सदरमुकाम गौरमा सरकारविरुद्ध चर्काे नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
करिब ३ महिनाभन्दा लामो समयदेखि तराई मधेशमा आन्दोलन चलिरहँदा पनि सरकार गम्भीर नभएको र मधेशको मागलाई कुनै वास्ता नगरेको भन्दै शिक्षकहरुले मधेश आन्दोलनप्रति समर्थन जनाएका हुन् ।
नेपाल शिक्षक महासंघको अगुवाईमा गौरको मधेश क्रान्ति चोकबाट सुरु भएको जुलुसमा शिक्षकहरुले सरकारविरुद्ध चर्काे नाराबाजी गरेका थिए । नालायक सरकार मुर्दावाद, केपी ओली मुर्दावाद, मधेशको मांग पुरा गर, समानुपातिक सिद्धान्त लागु गर, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर भन्ने मुल नाराका साथ सुरु भएको प्रदर्शन नगर परिक्रमा गरि नेपाल भारत सीमाको धर्नास्थलमा गएर धर्नामा परिणत भएको थियो ।
चनौ र बनिया समाजको पनि प्रदर्शन

त्यस्तै जारी मधेश आन्दोलनप्रति समर्थन जनाउँदै चनौ र बनिया समाजले पनि शुक्रबार सदरमुकाम गौरमा छुट्टा छुट्टै प्रदर्शन गरेका छन् । आफ्नो पहिचान झल्किने पारम्परिक भेषभुषामा सज्जिएर उनीहरुले प्रदर्शन गरेका हुन् ।
विगत ८४ दिन देखि तराई मधेशमा जारी आन्दोलनका कारण मधेशका नागरिकहरुको जनजिवन कष्टकर हुँदा पनि सरकारले कुनै वास्ता नगरेको तथा मधेशका जायज माँगहरुको बारेमा सरकार अहिलेसम्म गम्भीर नदेखिएकाले सरकारलाई मधेशीहरुको एकता देखाउनका लागि प्रदर्शन गरिएको प्रदर्शनका सहभागीहरुले बताए ।
करिब १० हजार भन्दा बढिको सहभागितामा मधेशी एकता जिन्दाबाद, गृहमन्त्री मुर्दाबाद, जागो मधेशी छिनलो मधेश भन्ने नाराका साथ सदरमुकाम गौरको मधेशक्रान्ति चोकबाट सुरु भएको जुलुस अस्पताल चोक, भन्सार हुँदै नाकामा बसेको धर्ना स्थलमा पुगेर सम्पन्न भएको थियो ।




