हुलाकी न्यूज,काठमाडौँ : चिसोचिसो मौसममा यूएनपार्क पारि बाग्मती नदी किनारमा वृद्धवृद्धासहित केही मानिस घाम तापेर कुराकानी गरिरहेका थिए ।

प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको सभाका लागि भनेर काठमाडौं आएका उनीहरू सभास्थलभन्दा निकै पर आराम गर्दै गरेको अवस्थामा भेटिए ।

केहीबेर जुलुसमा पनि हिँडेको बताउँदै उनले खुट्टा दुखेपछि नदी छेउमा आएर बसेको बताए ।‘आमाले पशुपति दर्शन गर्ने भन्दै हुनुहुन्थ्यो । गाडी आउने भएपछि चढेर आयौं । बिहान पशुपतिको दर्शन गर्‍यौं । जुलुसमा २० मिनेट हिँडेपछि खुट्टा दुख्यो अनि गाडी छेउमै आएर बसेका छौं ।’सँगै रहेकी एक महिलाले थपिन्– ‘हम् पशुपति घुमके अइली । आन्दोलन देखेगेलली और आन्दोलन भी कैली ।’अर्थात् पशुपति पनि घुम्यौं, आन्दोलन पनि गर्‍यौं ।उनीहरूलाई अब कतिबेला घर फर्किने हो भन्ने प्रतीक्षा छ ।

यहाँसम्म कि एकजना वृद्ध त आज कुन नेता बोल्ने हुन् भनेर प्रश्न गर्दै थिए ।‘आज केपी ओली आउने हुन् कि प्रचण्ड ?’उनको प्रश्नको जवाफ सँगै रहेका अर्का व्यक्तिले दिए– ‘प्रचण्ड हुन्, हामी उनैको भाषण सुन्न आएको ।’चपुरकी ओमकुमारी मगरलाई आन्दोलनमा जानुपर्छ भनेर ल्याए । तर आफूलाई टाउको दुखेकाले जुलुसमा सहभागी नभएको उनले बताइन् ।

त्यहीँ भेटिएकी उर्मिला महतोले पनि बिहान पशुपतिको दर्शन गरिन् ।बाग्मती नदी निकै फोहोर देख्दा भने उनलाई दुःख लाग्यो ।‘बाग्मतीको पानी निकै गन्धा रहेछ,’ उनले लोकान्तरसँग भनिन् ।

गाडीवालालाई भाडाकै ध्यान

महोत्तरीको साम्सी गाउँपालिकाका रामबाबु ठाकुरले आमसभाका लागि भनेर एक महिनाको बीचमा ३ पटक मान्छे लिएर आए ।शुरूमा प्रचण्ड–नेपाल पक्षको सभाका लागि मान्छे बोकेका उनले दोस्रोपटक ओली पक्षको सभाका लागि पनि मान्छे ल्याए ।तेस्रोपटक सभाका लागि काठमाडौं आएका उनले एक पटकको गाडी भाडा ४० हजार रुपैयाँ लिने गरेको बताए ।५० वटा गाडी सँगै आएको उनले बताए । दुई सिटमा ४ जनासम्म बसेर आएको उनले जानकारी दिए ।उनले २० हजार रुपैयाँ अग्रिम लिएका रहेछन् । बाँकी भाडा भने गाउँ फर्केपछि पाउने उनको आशा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.