
हुलाकी न्यूज, सुनसरी : पूर्वराजपाका नेता महेन्द्र राय यादवकै अगुवाईमा उपेन्द्र यादव समूहले एकलौटी समायोजन गर्न थालेपछि पूर्वराजपा समूहले समायोजनलाई नमान्ने जनाएको छ।
जनता समाजवादी पार्टी (जसपा)ले जिल्लामा समायोजन प्रक्रिया थालेको छ। जसमा उपेन्द्र यादव समूहले सुनसरीमा एकलौटी समायोजन गरेपछि विवाद चर्किएको छ। उपेन्द्र समूहले एकलौटी समायोजन गरेको भन्दै पूर्वराजपा समूहले प्रेस विज्ञप्ति नै जारी गरी समायोजन अस्वीकार गर्ने जनाएको हो।
सुनसरी जिल्लाको जसपा समायोजना सहजीकरण कार्यदलको तर्फबाट राजपा पक्षका सन्तोष कुमार मेहता र मनिष प्रसाद रौनियारले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै दुवै पार्टीबीचको समायोजन निर्देशिका, विधान र समायोजन सम्बन्धी पुरक सकुर्लरको अवज्ञा गर्दै उपेन्द्र पक्षले एकलौटी रुपमा समायोजन गरेको आरोप लगाएको छ।
विज्ञप्ति अनुसार सहमतिको बेवास्ता गर्दै राजपा पक्षको केन्द्रिय समायोजन सहजीकरण कार्यदल र जिल्ला समितिलाई बाईपास गरी एकतर्फी रुपमा कब्जा गर्ने मनसायले तथाकथित रुपमा विवादित बनाउने गरी जिल्ला समायोजनको घोषणा गरिएको भनिएको छ।
पुर्व राजपाको जिल्ला समितिलाई बेवास्ता गरी केन्द्रिय निर्णय बिना नै कार्यकारिणी सदस्य महेन्द्र राय यादवको उपस्थितिमा जिल्ला समायोजन गरिएकोमा खेद व्यक्त गरिएको छ।
यस्तो गतिविधिले पार्टी भित्र गुटबन्दी हावी भई संगठन नै धारासायी अवस्थामा पुग्ने भन्दै केन्द्रिय पदाधिकारी र कार्यकारिणी सदस्यलाई गम्भीर हुन नेता मेहताले आग्रह गरेका छन्।
मनपरी रोक्न र अनुशासनको दायरामा ल्याउनमा मांग गर्दै नाटकीय रुपमा गरिएको समायोजन राजपा पक्षलाई मान्य नहुने मेहताले बताएका छन्।
सोमवार सम्पन्न समायोजन कार्यक्रमबाट जिल्ला समन्वय समितिको अध्यक्षमा सपा पक्षका भागिरथ खत्बे र सचिवमा प्रदीप कार्कीलगायतका व्यक्तिहरुलाई चयन गरिएको हो।
पूर्वराजपाका नेता महेन्द्र यादवका वरियता क्रम घटाइए पछि उनी उपेन्द्र यादव निकट भएका छन्।
यसअघि सुनसरी मै राजपा पक्षका केही नेताहरुलाई उपेन्द्र यादवले पार्टी प्रवेश गराउँदै जसपा बनाएका थिए।




