हुलाकी न्यूज, काठमाडौ, २० कार्तिक । प्रेस मञ्च नेपालले वीरगंजको एफएमहरूलाई प्रेस काउन्सिल नेपालद्वारा पठाईएको सचेतना पत्रप्रति आपत्ति जनाएको छ । प्रेस मञ्च नेपालका केन्द्रिय सहसचिव आशिष गुप्ताले बिहिबार विज्ञप्ति जारी गर्दै मधेश आन्दोलनको क्रममा वीरगंजका स्थानीय एफएम र पत्र पत्रिकाहरूको भूमिका अत्यन्त मर्यादित रहे पनि विभिन्न बहानामा सरकारी निकायद्वारा प्रेस स्वतंत्रताको सर्वमान्य सिद्धान्त विपरीत हतोत्साहित गर्ने कार्य गरेको भन्दै त्यसको आलोचना गरेका छन् ।
उनले कुण्ठित वा पूर्वाग्रही मानसिकताले मधेशका मिडियाहरूमाथि अंकुश लगाउने नीयतले उठाईएको कुनै पनि कार्यको मञ्चले घोर भर्तसना गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्ति मार्फत गुप्ताले प्रेस काउन्सिलका अध्यक्षलाई सत्य तथ्य बुझ्न मधेशका जिल्लामा भ्रमण गर्न अपिल पनि गरेका छन् ।




