हुलाकी न्यूज, काठमाडौं, १९ कार्तिक । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रबाट बिहिबार खाना पकाउने ग्यासको सिलिन्डर सर्वसाधारणले लुटेका छन् । बिहिबार बिहान १५ सिलिन्डर ग्यास लुटिएको छ ।
औद्योगिक क्षेत्रमा ग्यास लिन लाइन लागेका सर्वसाधारणले मनमैजुकी व्यवसायी विमला थापाको ग्यास लुटेका हुन् । मिनी ट्रकमा राखेर मनमैजुतर्फ लैजान लागिएको ग्यास लुटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लमजुङ खुद्रा स्टोर, मनमैजुका लागि बा२ख ५१०९ नं.को मिनी ट्रकमा राखेर लैजान लागिएको ग्यासमध्ये १५ वटा सिलिन्डर लुटिएको हो । औद्योगिक क्षेत्रको गेटमै भेला भएको भीडबाट एक्कासी ग्यास लुटिएको प्रहरीले जनाएको छ ।
ग्यास पाउने आशामा केही दिनदेखि लाइनमा बसे पनि ग्यास नपाएपछि आक्रोशित बनेका सर्वसाधारणले ग्यास भरिएको गाडी रोकेर लुटेका हुन् । स्थिती नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको थियो । यद्यपी लुटिएको ग्यास फिर्ता गराउन भने प्रहरी असफल भएको छ ।



