
हुलाकी न्यूज, कलैया: प्रदेश २ सरकार भौतिक पूर्वाधार विकास मन्त्री एवं जसपाका नेता जितेन्द्र सोनलले अहिले तोकिएको मितिमा चुनाव हुन नसक्ने बताएका छन्।
असंवैधानिक तबर संसद विघटन गरिएको र दुई समूहबीच विवाद भइरहेको अवस्थामा बैशाख मै चुनाव सम्भाव नरहेको मन्त्री सोनलले दाबी गरे।
अहिले धेरै उछलकुद गर्नुभन्दा सर्वोच्च अदालतको फैसलालाई कुर्नु पर्ने उनले बताए।
‘सर्वोच्च अदालतको फैसला अनुरुप देश अगाडि बढ्छ। हामीले र्सोच्चमा मुद्दा दियौं तर विभिन्न कुरा गर्छौ भने सर्वोच्चको मुद्दाको के अर्थ?’ उनले भने,‘सर्वोच्चको फैसलालाई कुरौं। त्यसपछि अरु कुरा गरौंला।’
संघीय सरकारले देशको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत हुनबाट रोक्न खोजेको आरोप पनि मन्त्री सोनलले लगाए।
यसैबीच, सोनलले दुधौरा नदीमा पुलको शिलान्यास गरेका छन्।
बाराको परवानीपुर हाईबेदेखि सदरमुकाम कलैया जोड्ने कृषि सडकमा रहरियाडिह र प्रसौनीको दुधौरा नदीमा १० करोडको लागतमा प्रदेश सरकारले पुल निर्माण गर्न लागेको हो।
पुल निर्माण भए पछि सहजै रुपमा परवानीपुर कलैयालाई जोड्ने छ।
पुलको लम्बाई ८२ मिटर, चौडाइ ११ मिटर रहेको छ। ठेक्केदार कम्पनी रायमाझी अबलिक आजादलाई २० महिनामा कार्य सम्पन्न गर्न मन्त्री सोनलले निर्देशन दिएका छन्।
शिलान्यास कार्यक्रममा बारा निर्वाचन क्षेत्र ४ का सांसद एकबाल मियाँ, परवानिपुर गाउँ पालिकाका अध्यक्ष हरिनारायण साह, प्रसौनि गाउँपालिका अध्यक्ष भोला गुप्ता, उपमेयर गिता साहलगायतको उपस्थिति रहेको थियो।




