हुलाकी न्यूज,काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्टको बर्को ओढेर कम्युनिस्ट आन्दोलनको बदनाम गरिएको आरोप लगाएका छन्  ।

उनले नाम नलिइकन पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै कम्युनिस्टको बर्को ओढेर बाटोमा बस्नेहरुले कम्युनिस्ट आन्दोलनको बदनाम गराएको बताएका छन् । बिहीबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कम्युनिस्टको खोल ओढेकै व्यक्तिले बदनाम गराएको बताएका हुन् ।

सम्बोधनका क्रममा उनले भने, ‘कम्युनिस्टकै बर्को ओढेर बाटोमा बस्नेहरुले कम्युनिस्ट आन्दोलनको बदनाम गराए । कम्युनिस्ट आन्दोलन र लोकतन्त्रको सबैभन्दा बढी विरोध कम्युनिस्टकै खोल ओढेकाले गरेका छन् ।’

त्यस्तै प्रधानमन्त्री ओलीले विगतमा पनि कम्युनिस्ट आन्दोलनलाई बदनाम गराइएको उल्लेख गर्दै भने, ‘विगतमा पनि यिनीहरुले यिनीहरुले कम्युनिस्ट आन्दोलनलाई निर्दयी, संवेदनहीन, मानवताहीन भएको हुन्छ भनेर उपद्रो गरे । ल्याएर हामीले धेरै कोसिस गर्यौँ । तर सुधार्न सफल भइएन ।’

त्यस्तै प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहालले गाडी लिएर जनताले कति दु:ख पाए भनेर हेर्न हिँडेको पनि बताए । त्यस्तै माधवकुमार नेपाल भने आफैले गराएको बन्दमा गाडी लिएर के जानु भनेर मोटरसाइकलमा घुमेको बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘जनताले कति दु:ख पाए भनेर गाडीमा तमासा हेर्न हिँडेका छन् । कार्यकर्ता सकिएछन्, आफै हिँड्याछन् । कार्यकर्ता छैनन् सिद्धिएछन् । कार्यकर्ता जति सबै यतै छन् ।’

बिहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल खुमलटारबाट गाडी लिएर बन्दको निरीक्षण गर्न निस्किएका थिए । उनले पुल्चोकमा आएर एकछिन बसेर नेता कार्यकर्तासँगै नारा पनि लगाएका थिए । त्यस्तै अर्का अध्यक्ष माधवकुमार नेपाल पनि बन्दको निरीक्षण गर्न सडकमा निस्किएका थिए । त्यसैलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले उनीहरू तमासा हेर्न सडकमा निस्किएको बताएका हुन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले दाहाललाई कानुनको पालना गर्न पनि आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.