हुलाकी न्यूज, काठमाडौं, १९ कार्तिक । वीरगंजका एफएमहरुले प्रेस काउन्सिलको सचेतना पत्रको कडा जवाफ फर्काएका छन् । प्रेस काउन्सिललाई लिखित स्पष्टिकरण दिँदै उनीहरुले बिना कुनै प्रमाण पेश गरी स्थानीय एफएमहरुमाथि काउन्सिलले सिधै आरोप लगाएकोमा आपत्ति प्रकट गरेका छन् ।
काउन्सिलले पत्र काटेको पर्साका एफएमहरु रेडियो तराई १०७ मेगाहर्ज, रेडियो बिन्दास ९४.८ मेगाहर्ज, रेडियो वीरगन्ज ९९, नारायणी एफएम, भोजपुरिया एफएम र आकाश एफएम १०१.९ मेगाहर्जले संयुक्त रुपमा जवाफ फर्काउँदै काउन्सिलले बिना कुनै आधार र प्रमाण आरोप लगाएको ठहर गरेको बताएको छ ।
रेडियो वीरगंजका अध्यक्ष ध्रुव साह, रेडियो बिन्दासका अध्यक्ष आर.सी. यादव, भोजपुरिया एफएमका प्रबन्ध निर्देशक महेश दास, रेडियो तराईका अध्यक्ष अजय यादव, आकाश एफएमका अध्यक्ष आसिक अंसारी र नारायणी एफएमका समाचार प्रमुख क्रान्ति साहद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “हामीले आचार संहिता उल्लंघन गरेको भनि आरोप लगाईए पनि त्यसको कुनै आधार प्रमाण समेत नदिई र हामीसँग केही सोध्दै नसोधी सिधै आरोप लगाउने गरी जारी भएको पत्रबाट हामीलाई आश्चर्यचकित बनाएको छ । यसरी बिना आधार प्रमाण नै हामी माथि आरोप लगाईएको समेत हाम्रो ठहर छ ।”
पत्रमा पत्रकारिताको सिद्धान्त र मान्यता विपरित हिंसा र आतंकलाई प्रोत्साहन गर्ने र नेपालको सार्वभौमिकता, अखण्डता तथा सामाजिक सदभाव बिगार्ने कुनै पनि प्रायोजित वा बनाबटी समाचार सामग्री प्रसारण नगरिएको स्पष्ट पारेको छ ।
यसैबीच, रेडियो बिन्दासका अध्यक्ष एवं मधेशी पत्रकार समाज नेपालका महासचिव आर.सी. यादवले आफुहरु पत्रकारिताको सिद्धान्त र मूल्य मान्यता सँगै हिँड्दै आएको स्पष्ट पारेका छन् । उनले आफुहरुमाथि तथ्यहिन आरोप लगाएरे संचारमाध्यमलाई पत्र काट्नु दुखदायी र नियोजित रूपमा बदनाम गराउने काम भएको ठहर गरेका छन् । उनले एकल र पक्षपाती प्रवृतिको घोर भर्तसना गरेका छन् ।




