
कमल कुमार मण्डल/हुलाकी न्यूज, राजविराजः जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले कसैको प्रलोभनमा परी आफ्नो बच्चाको भविष्य विक्री नगर्न सुझाव दिएका छन्। चुनावका बेला भोट विक्री हुने गरेको र त्यससँगै बालबच्चाको भविष्य पनि विक्री हुने गरेको डा.राउतले बताएका छन्।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १६ स्थित नरेन्द्र मेमोरियल माध्यमिक विद्यालय बोरियाको प्राङ्गणमा आयोजित गरिएको नेतृत्वकर्ताः कार्यकर्ता प्रशिक्षण एवम् भेटघाट कार्यक्रममा डा.राउतले चुनावका समयमा जनताले अमूल्य मत एक हजार रुपैयाँमा बेच्नु मधेशका लागि दुर्भाग्यपूर्ण भएको बताए।

‘जनताले आफ्ना अमूल्य मतलाई प्रलोभनमा परेर बेच्नु मधेशका लागि दुर्भाग्यपूर्ण हो, जसले जनताको हितमा काम गर्ने जनप्रतिनिधि चुनिन पाउँदैन’ डा.राउतले भने, ‘सामन्ती प्रवृतिका व्यक्तिहरु चुनिएर आएपछि जनताको आकांक्ष पुरा होला भनेर सोच्नु नै व्यर्थ हो।’
डा.राउतले जनमत पार्टीको मुख्य लक्ष्य नै मधेशमा दश लाख रोजगारी रहेको बताए।
‘भिजनरी नेतृत्वकर्ता, भिजनरी सत्ता नभएकोले हाम्रा स्वर्ग जस्तो मधेश भुमीलाई यहाँका नेतृत्वकर्ताले नष्ट गरेका छन्। यो क्रम अझै रोकिएको छैन।’ उनले भने।
कार्यक्रमलाई जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खान, गैर आवासीय मधेशी संघ अमेरिकाका अध्यक्ष इन्द्रजित यादवलगायतले सम्बोधन गरे।

जनमत पार्टीका केन्द्रीय सदस्य तथा सप्तरीका पुर्व इन्चार्ज सुरेन्द्र मधेशीको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला जनमत संघ सप्तरीकी नेतृ सुशीला यादवले सम्बोधन गरेकी थिइन्।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब १ सय ५० जनाभन्दा बढी जनमत पार्टीमा प्रवेश गरेका छन्।




