हुलाकी न्यूज, वीरगंज, १९ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वीरगंजमा प्रहरीको गोली लागि मृत्यु भएका भारतीय युवक आशीष रामलाइ सहिद घोषणा गर्न माग गरेको छ । बुधबार वीरगंजमा बसेको मोर्चाको बैठकले प्रेस विज्ञप्ति जारी गर्दै भारतीय युवक आशिषलाई सहिद घोषणा गरी उचित क्षतिपुर्ति दिन माग गरेको हो ।
नो मैन्स ल्याण्डमा प्रहरीद्वारा मारिए भारतीय व्यक्ति
मोर्चाले विज्ञप्तिमा भारतीय सीमानाकामा प्रहरीले आन्दोलनकारीमाथि कायरतापूर्ण आक्रमण गर्ने क्रममा छिमेकी हितैषी राष्ट्र भारतका एक जना निर्दोष नागरिकको बर्बरतापुर्ण हत्या गरिनु दुखद घटना भएको जनाएको छ । आशिष रामलाई भावपुर्ण श्रद्धाञ्जली दिँदै मृत्यु उपरान्त उनलाई दिइनु पर्ने उचित सम्मानको लागि अपिल गरिएको छ ।
आफ्नो निजी कामले वीरगंज आएर फर्किने बेलामा प्रहरीको गोलीको आशिष राम शिकार भएको मोर्चाले बताएको छ । मोर्चाले अधिकारको लडाईमा पहिलोचोटि कुनै भारतीय सहिद नभएको दृष्टान्त दिँदै यसअघि २००७ साल, २०४६ साल र २०६२/०६३मा नेपालमा भएका आन्दोलनमा मारिएका भारतीय नागरिकलाई सरकारले सहिद घोषण गरी क्षतिपुर्ति प्रदान गरेकोले मृतक रामलाई पनि सोही अनुरुप सम्मान प्रदान गर्नुको साथै परिवारजनलाई उचित क्षतिपुर्ति दिन जोडदार माग गरेको छ ।
मोर्चाको तर्फबाट प्रदिप यादव, पुरुषोत्तम झा, नेजामुद्दीन समानी र प्रेमचन्द्र कुशवाहाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा काम विशेषले नेपाल आउने भारतीयमाथि सीमानाकामा प्रहरीले ज्यादती र दुव्र्यवहार गर्ने क्रम रोक्न माग गरिएको छ ।



