हुलाकी न्यूज,जनकपुरधाम :धनुषामा हाईस्पिड मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
जिल्लाको विदेह नगरपालिका-१ ठाढीका २५ वर्षीय सुविन मण्डलको मोटरसाइकल दुर्घटनामा परी सोमबार मृत्यु भएको हो।अगाडि पछाडि नम्बर प्लेटसमेत नरहेको मोटरसाइकल दुर्घटना हुँदा मण्डलको घटनास्थलमै मृत्यु भएको दुहबी प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक हिलस सिंहले जानकारी दिए ।
सो युवक सोमबार अपराह्न आफ्नो घर ठाढीबाट तीनकौरियाचौक एक हातले नै हाइस्पिडमा मोटरसाइकल चलाएर जाँदै गर्दा विदेह नगरपालिका-३ दुहबीमा अनियन्त्रित भएर दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
स्थानीयले दिएको जानकारी अनुसार युवक मण्डल नियमित रुपमा हाईस्पिडमै लापरवाह ढङ्गले मोटरसाइकल चलाउँदै आईरहेका थिए ।मृतक मण्डलको शव प्रादेशिक अस्पताल जनकपुरधाममा पोष्टमार्टम पश्चात परिवारजनको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।



