
हुलाकी न्यूज, काठमाडौं : डा.सीके राउत नेतृत्वको जनमत पार्टीको प्रथम महाधिवेशन चैत्र २८ र २९ गते जनकपुरधाममा हुने भएको छ।
माघ १४ र १५ गते लुम्बिनीमा भएको जनमत पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको प्रथम महाधिवेशन गर्ने निर्णय गरेको हो।
पार्टीकी केन्द्रीय सदस्य अनिता साहको संयोजकत्व र धनुषा जिल्ला इन्चार्ज सहभागी हुने गरी महाधिवेशन आयोजन समिति गठन गरिएको छ। समितिमा विभिन्न उपसमितिहरु थप गर्ने निर्णय भएको हो।
महाधिवेशन प्रतिनिधिमा पार्टीको वडा समितिका अध्यक्ष, महिला उपाध्यक्ष र सचिव, स्थानीय तह र निर्वाचन क्षेत्रका निर्वाचित पदाधिकारीहरु(सदस्य बाहेक), जिल्ला समन्वय समितिका सम्पूर्ण सदस्यहरु रहनेछन् ।
यसैगरी, प्रदेश समन्वय समितिका सम्पूर्ण सदस्यहरु, केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरु तथा जिल्ला इन्चार्ज तथा सहइन्चार्जहरु, राष्ट्रिय परिषदका सम्पूर्ण सदस्यहरु र वरिष्ठ नेतृत्व मण्डल तथा मधेश नेतृत्व पुंजका सम्पूर्ण केन्द्रीय सदस्यहरु, विभाग र मोर्चाका सम्पूर्ण केन्द्रीय सदस्यहरु महाधिवेशन प्रतिनिधि रहने छन्।
पार्टीले महाधिवेशनसँगै आगामी निर्वाचनका लागि पनि विभिन्न निर्णयहरु गरेको छ। आगामी प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने र त्यसका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गर्ने गरेको हो।




