
हुलाकी न्यूज, जनकपुरधामः प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयले मधेश आन्दोलनका शहीद मध्ये ११ परिवारलाई रोजगारी उपलब्ध गराएको छ।
भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलका मुख्य स्वकीय सचिव रमेश सर्राफका अनुसार मन्त्रालयले विभिन्न निकायमा ११ जना शहीद परिवारलाई रोजगारी दिएको हो।
मधेश आन्दोलनमा शहीद भएकाहरुको परिवारलाई रोजगारी उपलब्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता अनुसार उनीहरुलाई करारमा जागिर दिइएको हो।
मन्त्रालयका सचिव रामआधार साहले मंगलबार पनि केही शहीद परिवारलाई नियुक्त पत्र थमाएका छन्।

मन्त्री सोनलले थप शहीद परिवारलाई स्थायी रुपमा जागिरको व्यवस्थापनका लागि पहल गरिरहेको बताएका छन्।
भौतिक मन्त्रालयबाट पर्साका विरबल मुखियाको परिवारमा सुखारी मुखिया, सिरहाका राकेश कुमार ठाकुरका श्रीमति रिना कुमारी ठाकुर, रघु साफीका लक्ष्मण रजक, धनुषाका ब्रहमदेव बरैका फुलोदेवी बरैलगायतलाई जागिर उपलब्ध गराइएको छ।
भौतिक मन्त्रालय अन्तरगत विभिन्न जिल्लामा रहेको कार्यालयहरुमा उनीहरुलाई जागिर दिइएको हो।
अन्य शहीदका परिवारहरुमा कतिपयको नागरिकतालगायतका कागजात नभएकोले प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।



