हुलाकी न्यूज,जनकपुरधाम: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेश विरोधी भनेर दुस्प्रचार गर्नेलाई पिछडिएका दलित डुमका छोरा, चमारका छोरालाई काँधमा बोकेर हिड्न चुनौती दिएका छन्। आफ्नै पालोमा ढल्केबर जनकपुर चिप्लो सडक, ढल निकास, रेल लगायत थुप्रै विकास गरेको उनको दाबी रहेको छ।
धनुषाको ढल्केबरमा देशकै ठूलो चार सय केभी सबस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले झ्याप्प बती जानू लोडसेडिङ नभएको दाबी गरेका छन् । झ्याप कहिलेकाँही झ्याप बिजुली जानू मात्र प्राविधिक गडबडी भएको तर्क गरे ।
‘कुनै कारणबस झ्याप बिजुली जानू लोडसेडिङ होइन । यो प्राविधिक समस्या हो ।’ उनले भने, ‘सिस्टम अहिले बलियो भइसकेको छैन । बिस्तारै सुधार हुँदैछ ।’
प्रधानमन्त्री ओलीले आफ्नै पालोमा देश लोडसेडिङ मुक्त भएको दावी गरे साथै उनले अब देशलाई बिजुली किन्नु नपर्ने बताउँदै छिमेक देश भारत, बंगला देश लगायतका देशलाई विद्युत् बेच्ने बताएका हुन्।
प्रधानमन्त्री ओलीले आफु दोस्रो किड्नी फेर्दा पार्टी भित्रैका केही नेता मर्छ कि भन्ने आश लगाएर बसेको, तर आफू बाँचेपछि प्रधानमन्त्री बन्न पाइन्न भनेर पार्टी छाडेर गएको तर्क गरे। उनले मर्ने बेला कमिलाको प्वाँख पलाउने गरेको टुक्का प्रयोग गर्दै छुट्टिएर जानेको दिन समाप्त हुने बताएका हुन्।अब चाँडै पूर्वपश्चिम रेल गुड्ने, ठूला सिचाइका योजना सुनकोसी मरिन डाइभर्सन जस्ता ठूला योजनाको शिलान्यास गरि बनाउने बताए । अब चाँडै तराई मधेश सिंचित भइ कृषिमा फड्को मार्ने प्रधानमन्त्रीको भनाइ छ ।यस कार्यक्रममा उर्जा मन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुली महतो, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतको उपस्थिति रहेको थियो ।



