संजय तिवारी, बारा, १८ कार्तिक । संघीय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य एवं पुर्व सभासद प्रमोदप्रसाद गुप्ताले नेपाल प्रहरीको दमन विश्वसामु आईसकेको बताएका छन् । बारा जिल्लाको महागढीमाई नगरपालिकास्थित बबुआईनमा बुधबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आयोजना गरेको मधेश जागरण अभियानलाई सम्बोधन गर्दै नेता गुप्ताले सोमवार बीरगंजमा नेपाली प्रहरीले गरेको दमनको विश्वले बिरोध गरिरहेको भन्दै अब सरकारमाथि अन्तर्राष्ट्रिय दबाव परिरहेको बताए । उनले सरकारले जति दमन गरेपनि जनताले अधिकार लिएरै छाड्ने दाबी गरे ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी दुताबास, एमनेष्टी इन्टरनेश्नल लगायतकाले संबिधानमा सबैको अपनत्व हुने गरी अधिकार बाँडफाँड गर्नुपर्ने सुझाव दिईरहेको कुरालाई इंगित गर्दै गुप्ताले विश्वको कुरा नमानी देशमा मुठभेडको स्थिति सृजना गरे सत्तासिन दलहरु र सम्पुर्ण राष्ट्रका लागि नै हानीकारक हुने ठोकुवा गरे ।
नेता गुप्ताले बिगत तीन महिनादेखी मधेशका जनताले गर्दै आएको आन्दोलनलाई बेवास्ता गर्दै सत्ताधारी दलहरुले मधेशका जनतासँग भोट लिई धोका दिएको आरोप लगाएका छन् ।
मधेशी मोर्चाका बबुवाईनका अध्यक्ष दिपुप्रसाद चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्यहरु चुमनबाबु केवट, बच्चाराय यादव, रामकिशोर यादव, जिल्ला अध्यक्ष रामबाबुकुमार यादव, तराई मधेश लोकतान्त्रिक पार्टीकी नेतृ पिंकी यादव लगायतकाले सम्बोधन गर्दै मधेशको माग राजनीतिक भएकोले राजनीतिक तरिकाले समाधान गर्न आग्रह गरेका थिए ।



