हुलाकी न्यूज,जनकपुरधाम : प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा जनमत बटुल्न र चुनावमा विजयी हुन अनेक उपाय अपनाउन थालेका हुन्।
प्रधानमन्त्री ओलीले सबैभन्दा धेरै मतदाता रहेको प्रदेश २ मा पनि आफ्नो प्रभाव बढाउन पहल गरेका छन्।मधेसमा आफ्नो प्रभाव बढाउनका लागि काँग्रेस, जसपा तथा नेकपाकै प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्ता तान्न उनले अनेक ‘अफर’ दिएपनि खासै सफल हुन सकेका छैनन्,तर आफ्ना विश्वासपात्र लगायतका नेताहरुबाट सफलता नपाएपछि लामो समयपछि प्रधानमन्त्री ओली बालुवाटारबाट निस्केर देश दौडामा निस्केका हुन्।
पछिल्लो मधेस आन्दालेनताका विवादित अभिव्यक्तिहरु दिँदै मधेस विरोधी नेताको ट्याग लागेका ओलीले मधेसी जनता फकाउन प्रतिनिधिसभा विघटना पश्चात उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रभु साह, रघुवीर महासेठ लगायतका नेताहरुलाई प्रदेश २ मा आफ्नो पक्षमा माहौल बनाउन खटाएपनि असफल भएपछि प्रधानमन्त्री ओली आफै मधेस झरेका छन्।
उनले आफ्नो पक्षमा माहौल तयार पार्न पछिल्लो समय खासगरी मधेसलाई प्राथमिकतामा राखेको र आज उनी धनुषाको ढल्केवरस्थित देशकै ठूलो सब स्टेशन उदघाटनकालागि आउँदै छन्।
त्यसपछि उनी हेमनारायण यादव स्मृतिसभालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री सिरहा जान लागेका हुन्। प्रदेश २ मा आफ्नो प्रभाव कमजोर भएको आँकलन गरेर नै उनी आफै सो क्षेत्रमा जान लागेको जानकारहरुको भनाइ छ ।
यसअघि ओली संगठनात्मक रुपमा आफ्नो पार्टी निकै कमजोर रहेको सुदूरपश्चिम प्रदेशमा पुगेका थिए । प्रदेश २ तत्कालीन माओवादीको बलियो प्रभाव रहेको क्षेत्र हो ।
हाल नेकपाको प्रचण्ड–माधव पक्षका एक अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला पनि प्रदेश २ मै पर्दछ । त्यसैले पनि ओलीले प्रदेश २ मा विशेष महत्त्व र नयाँ रणनीतिका साथ अघि बढ्न खोजेको उनी निकट स्रोत बताउँछ ।
नेकपाको प्रचण्ड–माधव पक्षले प्रदेश २ मा नेकपाको राजनीतिक विभाजनको खासै ठुलो असर नदेखिएको बताउँदै सिङ्गो नेकपाको ठुलो हिस्सा आफ्नो पक्षमा रहेको दावी गरेको छ ।
नेकपा स्रोतका अनुसार मधेसमा आफ्नो पक्षमा माहौल बनाउन जनता समाजवादीबाट रुष्ट भएका तथा नाम चलेका मधेसी नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउने तयारीमा छन् ।



