हुलाकी न्यूज, काठमाडौं, १८ कार्तिक । प्रेस काउन्सिलले वीरगंजका विभिन्न एफएमहरुलाई पठाएको सचेतना पत्रप्रति मधेशी पत्रकार संघले आपत्ति जनाएको छ । संघका केन्द्रिय अध्यक्ष पंकज दासले बुधबार विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रताको खिलाफ प्रेस काउन्सिलले पठाएको सचेतना पत्रप्रति मधेशी पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
विज्ञप्तिमा मधेश आन्दोलनको क्रममा वीरगंजका स्थानीय एफएम र पत्र पत्रिकाहरूको भूमिका अत्यन्त मर्यादित रहे पनि विभिन्न बहानामा सरकारी निकायद्वारा प्रेस स्वतंत्रताको सर्वमान्य सिद्धांत विपरीत हतोत्साहित गर्ने काम भएको भन्दै त्यसको आलोचना गरिएको छ ।
संघको विज्ञप्तिमा स्थानीय जनभावना विपरीत र कुण्ठित तथा पूर्वाग्रही मानसिकताले गर्दा मधेशका मिडियाहरुमाथि अंकुश लगाउन खोजिएको भन्दै त्यसको भत्र्सना गरिएको छ ।
अध्यक्ष दासले काउन्सिलको काउन्सिलका अध्यक्षलाई सत्यतथ्य बुझ्न मधेशका जिल्ला जिल्लामा भ्रमण गर्न अपील समेत गरेका छन् ।
प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले आन्दोलनको प्रत्यक्ष प्रसारण गरेको र सामाजिक सहिष्णुता भड्काउने समाचार प्रसारण गरेको भन्दै वीरगंजका एफएमहरुलाई सचेतना पत्र पठाएका थिए ।



