
हुलाकी न्यूज, विराटनगरः जनता समाजवादी पार्टी (जसपा)का दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव समूहले वरिष्ठ नेता राजेन्द्र महतोको कार्यक्रम बहिस्कार गर्ने भएका छन्।
उपेन्द्र यादव निकट युवा संगठनले प्रेस विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता महतो सहभागी हुने कार्यक्रम स्वीकार नगर्ने जनाएको छ।

सोमबार झापाको दमकस्थित कन्काई पार्टी प्यालेसमा जनता समाजवादी युवा संघको पार्टी प्रवेश तथा भेटघाट कार्यक्रम राखिएको छ। जसको प्रमुख अथिति वरिष्ठ नेता महतो रहेका छन्।
यता महतो पक्षले पनि प्रेस विज्ञप्ति जारी गरी कार्यक्रम हुने जनाएको छ। स्रोतका अनुसार महतो कार्यक्रममा सहभागी हुने छन्।

पछिल्लो समय जसपामा विवाद बढ्दै गएको छ। उपेन्द्र यादव समूहले एकलौटी रुपमा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ।
जसको प्रतिवादमा पूर्वराजपा समूहले आइतबार जनकपुरधाममा युवाहरुको कार्यक्रम गरेको छ।




