हुलाकी न्युज :जनकपुरधाम । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लाई धनुषामा बिशेष सम्मान कार्यक्रम गरिने भएको छ ।
धनुषा जिल्लाको ढल्केवरमा निर्माण सम्पन्न भए लगत्तै नेपालकै पहिलो ४ सय केभी तथा २ सय २० केभी / १ सय ३२ केभी क्षमता भएको विद्युत सवस्टेशनको उद्दघाटन गर्न प्रधानमन्त्री ओली धनुषाको ढल्केवर आउने निश्चित भएपछि मिथिला नगरपालिकाले बिशेष सम्मान तथा अभिनन्दन गर्न लागेको नगरपालिकाका मेयर हरिनारायण महतोले जानकारी दिए ।
प्रधानमन्त्री ओलीलाई नगरपालिकाको तर्फबाट जानकी मन्दिर अंकित चांदीको मुर्ति, मिथिला पेन्टिंग सहित सम्मान गर्न लागेको मेयर महतोले बताए ।
नेपाल विद्युध प्राधिकरणले निर्माण गरेको देशकै सबैभन्दा ठूलो सवस्टेशनको उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि स्वागतको तयारीमा विद्युतका कर्मचारी तीब्र रुपमा जुटेका छन् ।
नेपाल सरकार र विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको ४ सय केभी तथा विश्व बैंकको सहुलियत पूर्ण ऋण एवम् नेपाल सरकार र विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२० केभी / १३२ केभी सवस्टेशन निर्माण सम्पन्न भएको नेपाल विद्युत प्राधिकरण सवस्टेशन ढल्केवरका प्रशासन प्रमुख रबिन्द्र रायले खोज केन्द्रलाई बताए । उक्त योजना निर्माण सम्पन्न गर्न २ वर्ष लागेको रायले जानकारी दिए ।
सवस्टेशन उद्घाटन पश्चात प्रधानमन्त्री ओलीले मन्तव्य दिने कार्यक्रम समेत रहेको नेकपा का युवा नेता शम्भु साहले बताए ।
उक्त कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवम् धनुषाकी सांसद जुली महतो, शहरी विकास मन्त्री प्रभु साह समेत सहभागी हुने आयोजकले जनाएको छ ।
.
प्रधानमन्त्रीसहित धनुषा आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सो उदघाटन सकेपछि प्रधानमन्त्री ओली सिरहामा हुने जनसभालाई सम्बोधन गर्न जाने छन् ।
उनका अनुसार उद्घाटन कार्यक्रममा करिब दस हजारको संख्यामा मानिसको उपस्थित रहने अनुमान गरिएको छ ।
ढल्केवरको विभिन्न क्षेत्रमा आवश्यक सुुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानमन्त्री आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको रहेछ ।



