
० मेयर लालकिशोर साहले अपारदर्शी ढंगले करोडौंको बल्ब खरिद गरे, तर हामीलाई एउटा पनि दिएनन्
० दमकललगायतको मेन्टिनेन्समा करोडौं रुपैंया देखाइएको छ तर दमकल विग्रेकै हुन्छ
० एम्बुलेन्सको तेलमा लाखौं रुपैंया गएको छ तर खै एम्बुलेन्स चलेको?
० जनकपुरधामको सरसफाईका लागि सबै वार्डमा ट्रयाक्टर किन्ने भनेका थियौं तर करोडौंको विलासी गाडी खरिद भयो
० प्रत्येक महिनामा बोलाउनु पर्ने बोर्ड बैठक ७–८ महिनादेखि बोलाइएको छैन
० सर्वोच्च अदालत र उपमहानगरपालिकाको बोर्ड बैठकले परिक्रमा क्षेत्रमा मान्स मदिरा विक्री वितरण नगर्ने निर्णय गरेको छ तर मेयर लालकिशोरले आफै मदिरा पसलको उद्घाटन गरेका छन्।
० वडा अध्यक्षहरुलाई काम गर्न नदिने तर बजेट फ्रिज गराउने। हालसम्म कति बजेट फ्रिज भयो मेयरले सार्वजनिक गर्नु पर्छ।
हुलाकी न्यूज, जनकपुरधामः प्रदेश २ को अस्थायी राजधानीसमेत रहेको जनकपुरधाम उप–महानगरपालिकामा अपारदर्शी काम भइरहेको खुलासा वडा अध्यक्षहरुले नै गर्दै आएका छन्।
जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्यसमेत रहेका लालकिशोर साह जनकपुरधामका मेयर छन्। प्रदेश सरकार पनि जसपाकै हो।
तर, जनकपुरधाम उप–महानगरपालिकामा मेयर साहले अपारदर्शी र अनियमितता गरिरहँदा कुनै पक्षको ध्यान नगएको जसपाकै केन्द्रीय सदस्य एवं वडा नम्बर ७ का वडा अध्यक्ष जानकी राम साहले बताउँ छन्।
मेयर लालकिशोरको कामले जनकपुरधामको बदनामीसँगै जसपाको शाख पनि गिरिरहेको उनको बुझाई रहेको छ।
हुलाकी न्यूजसँगको कुराकानीमा वडा अध्यक्ष साहले भने,‘जनताको अपेक्षा विपरीत मेयर लालकिशोर साहले काम गरिरहेका छन्। हामी एउटै पार्टीको भएपनि जनताको विरुद्ध र अनुचित काम मेयरले गरेका छन्। त्यसको विरोध गरेका छौं। मेयर लालकिशोरले अपादर्शी काम गरिरहेका छन् त्यसको भइरहेको हो।’
एउटा वार्डमा ५५ लाख मात्र दिने आफूले चै करोडौं करोडौं रुपैंया राख्ने मानसिकताबाट उठेर सबै वडाको बराबर विकास गर्नु पर्ने सुझव वडा अध्यक्ष साहको रहेको छ।
‘करोडौं रुपैंयाको बल मेयरले खरिद गरेका छन् तर एउटा पनि बल हामीलाई दिनु भएन।’ वडा अध्यक्ष साहले भने,‘दमकललगायतका मेसिनको मेन्टिनेन्समा करोडौं रुपैंया छुट्याइएको छ तर दमकल विग्रेकै हुन्छ। एम्बुलेन्समा लाखौं रुपैंयाको तेलको खर्च देखाइन्छ तर खै एम्बुलेन्स चलेको?’

उपमहानगरपालिका भित्र भागवण्डा नमिलेर विवाद हुने गरेको भन्ने प्रश्नमा उनी भन्छन् ‘एउटा पेन खरिद गर्नुपर्दा चिठी लेखेर पठानु पर्छ। सरसफाईका लागि वडामा ट्रयाक्टर दिदैन। बस खरिद गरिएको छ तर अहिलेसम्म चलेको छैन। एक दिन कर्मचारीहरुले पिकनिक मात्र गए। मैले कामको कुरा गरेको हुँ कमिसनमा भागबण्डा होइन।’
‘बारुण यन्त्र र ट्रयाक्टर नकिन्ने तर विलासी गाडी खरिद गर्ने? हामीले सबै वार्डमा एउटा ट्रयाक्टर खरिद गर्नु पर्ने भनेका थियौं।’ उनले भने, ‘मेयरका कारण हामी वडा अध्यक्षहरु पनि बदनाम भइरहेका छौं।’
असार मसान्तदेखि अहिलेसम्म बोर्ड बैठक बस्न नसकेको उनले बताए। प्रत्येक महिना बोर्ड बैठक बोलाउने प्रावधान रहेको तर मेयर लालकिशोरको अपारदर्शी कामको पोल खुल्ने डरले ७–८ महिनादेखि बोर्ड बैठक नभएको साहले बताए।
‘मांस मदिरा र गुठी, कुटीको जग्गा र नालासहितको नक्साका विषयमा प्रस्ताव राखेका थियौं। परिक्रमा रोडभित्र मांस मदिरा विक्री वितरण गर्न नदिने सर्वोच्च अदालतको आदेश छ।’ वडा अध्यक्ष साहले भने, ‘हाम्रो उपमहानगरपालिकाबाट पनि परिक्रमा रोडभित्र मांस मदिरा विक्री नगर्ने निर्णय भएको छ। तर, र्दुभाग्यको कुरा मेयर आफैले मदिरा पसलको उद्घाटन गर्नु भएको छ।’
मेयर लालकिशोरको हालसम्मको गतिविधि असफल रहेको दाबी गर्दै वडा अध्यक्ष साहले भने,‘मेयरले भन्नु पर्यो उहाँले के के काम गर्नु भयो? आन्तरिक बजेटबाट कति काम भएको छ? त्यो सार्वजनिक हुनु पर्यो?’
‘जनकपुरधाम उपमहानगरपालिकाको कति बजेट फ्रिज भएको छ? त्यो मेयरले अहिलेसम्म सार्वजनिक गरेको छैन।’ उनले भने,‘मेयरले त्यो सब कुरा सार्वजनिक गर्नु पर्यो।’
मेयर लालकिशोर साहकोभन्दा वडा अध्यक्षहरुले राम्रो काम गरिरहेको उनले दाबी गरे।
जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष जानकी राम साहसँग गरिएको कुराकानीको सम्पादित भिडियो अंशः



