हुलाकी न्यूज, काठमाडौं, १८ कार्तिक । जारी मधेश आन्दोलनका क्रममा प्रहरीले गरिरहेको दमनको विरोधस्वरुप संयुक्त राष्ट्र संघलाई २० लाखभन्दा बढी मधेशी र थारुको हस्ताक्षर बुझाइएको छ । संघीय मधेशी मोर्चाले प्रहरी दमन र मधेश आन्दोलनतर्फ अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्न सुरु गरेको हस्ताक्षर अभियान अन्तर्गत संकलन गरिएका २० लाखभन्दा बढी हस्ताक्षर बुधबार अपराह्न काठमाडौंको पुलचोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा युएनडिपी रेजिडेन्ट रिप्रेजेन्टेटर जेमी म्याकगोल्डरिकलाई बुझाइएको छ ।

हस्ताक्षर बुझाउन अभियानका अगुवा तथा नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा आफै गएका थिए ।

हस्ताक्षर बुझ्दै म्याकगोल्डरिकले मधेशमा भइरहेको आन्दोलनमा व्यापक जनसमर्थन र राज्यले गरिरहेको प्रहरी दमनबाट आफुहरु अवगत रहेको बताए । उनले हस्ताक्षर राष्ट्र संघका महासचिवलगायत राष्ट्रसंघको सबै उच्च कार्यालयसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

म्याकगोल्डरिकले नेपालमा भइरहेको सबै घटनाक्रमलाई राष्ट्रसंघले नजिकबाट नियालीरहेको भन्दै मानवअधिकार हननका अपराधीहरुलाई कारवाही गराउन राष्ट्रसंघले अहम भूमिका खेल्ने प्रतिबद्धता जनाएको अध्यक्ष झाले बताए ।

म्याकगोल्डरिकले राष्ट्रसंघले नेपाललाई सँधै शान्तिक्षेत्र, समृद्ध र मानवअधिकारको रक्षा गर्ने मुलुकका रुपमा हेर्न चाहेको पनि बताएका थिए ।

अध्यक्ष झाले राष्ट्रसंघले मधेशमा भइरहेको मानवअधिकार हननका घटनाको अनुगमन गर्न चाहेको तर नेपाल सरकारले अनुमति दिन नचाहेको राष्ट्रसंघको कार्यालयबाट बुझिएको पनि जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.