हुलाकी न्यूज,काठमाडौं : नेपाली सेनाको व्यवस्थापनमा निर्माण भैरहेको काठमाडौं-तराइ/मधेश द्रुतमार्ग आयोजनाको हालसम्मको प्रगति ११.११ प्रतिशत मात्रै छ।

नेपाली सेनाले उपलब्ध गराएको विवरण अनुसार, वित्तीयतर्फ ९.५२ प्रतिशत छ। हालसम्म १७ अर्व ८३ करोड रुपैयाँ खर्च भएको छ। यो पुस मसान्तसम्मको प्रगति विवरण हो।

आयोजनाको कुल लागत १ खर्ब ७५ अर्व रुपैयाँ रहेको छ। आयोजनाको ‘माइलस्टोन’ मानिएको सुरुङमार्ग र विशेष प्रकृतिका पुलहरु निर्माण सुरु नहुँदा खर्च कम भएको हो।

आयोजना ढिला हुनुको प्रमुख कारण विस्तृत आयोजना प्रतिवेदन नहुनु, तयार भएको प्रतिवेदन स्वीकृतिमा समय लाग्नु, अन्तराष्ट्रिय परामर्शदाता छनोटमा ढिलाइ, कोरोना लगायतका कारणहरु रहेको सेनाले जनाएको छ।

सुरुङमार्ग निर्माण  अघि बढाउन जियोटेक्निकल तथा जियोफिजिकल इन्भेष्टिगेशन कार्यको लागि परामर्शदाता छनौट भएर काम सुरु भैसकेको छ। नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले सुरुङमार्गका लागि कोरियन कम्पनी युसिन इन्जिनियरिङ छनौट भएको बताए।

जसले सुरुङमार्गको बिड डकुमेन्ट तयार पारि बोलपत्र आव्हान गर्ने तयारी गरेको छ। द्रुतमार्गमा तीनवटा सुरुङमार्ग निर्माण हुनेछन्।

काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक खण्ड आयोजनाको कुल लम्वाई ७२.५ किमी छ। जसमा ३ वटा सुरुङमार्ग ६४१ किमीको हुने छ, पुल १०.५९ किमी र ढुङ्गा माटोको कटिङ फिलिङ गर्नुपर्ने सडक खण्डको लम्बाई ५५.५ किमी रहेको छ।

यसअन्तर्गत आयोजनाको ४४ किमी सडक खण्डको सव ग्रेड गर्ने कार्य  हालसम्म ८८ प्रतिशत सम्पन्न भएको छ। २०७७/७८ मा थप ५.१० प्रतिशत काम सम्पन्न गराई आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष राखिएको छ।

सुरुङमार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट गर्न पूर्व योग्यता निर्धारणको सूचना सर्ट लिष्ट समेत भैसकेको छ।

ढुङ्गा माटो तथा संरचना निर्माण कार्य अन्तर्गत आव ०७४/७५ मा २० वटा  र आव ०७५/७६ मा १० वटा प्याकेज गरी ३० वटा प्याकेजमा राष्ट्रिय निर्माण व्यवसायीद्वारा निर्माण कार्य संचालन गरिएको  सेनाले जनाएको छ।

३०  वटा ठेक्का प्याकेजमध्ये १५ वटा प्याकेजहरुको कार्य सम्पन्न भएको छ। ४  वटा प्याकेजको न्यून प्रगति तथा साइट अवस्थाको कारण ठेक्का रद्धको नियमानुसारको कारवाही अगाडि बढाईएको छ ।

आयोजनाको लागि चालु आब ०७७/०७८ को पुँजीगत तर्फ ८ अर्ब ८४ करोड र चालु तर्फ ९ करोड ८४ लाख गरी जम्मा ८ अर्व ९३ करोड ८८ लाख बजेट बिनियोजन भएको छ।

आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना अनुसार काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग निर्माण आगामी तीन वर्षमा सम्पन्न गरिने सेनाले दाबी गरेको छ। आगामी आर्थिक बर्षमा यस सडकमा पर्ने जटिल प्रकृतिका पुल तथा सुरुङ निर्माण कार्य प्रारम्भ गर्ने लक्ष्य राखिएको छ।

समयमा सक्न भन्दै आयोजना निर्माणको समष्टिगत कार्य योजना बनाइएको छ। समष्टिगत कार्य योजना अनुसार आयोजनाको कार्य क्षेत्रलाई ११ वटा विभिन्न क्लस्टरमा विभाजन गरी आर्थिक बर्ष २०८०/०८१ सम्म कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

इपिसिएफ, डिजाइन एण्ड बिल्ड, युनिट रेट कन्ट्रयाक मा आधारित भइ ठेक्का बन्दोबस्त गर्ने योजनामा सेना छ।

विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ को प्रभावको कारण आयोजना निर्माण कार्यमा चुनौती थपिएको  छ। गत आबको लक्ष्य अनुरुपको कार्य प्रगति समेत प्रभावित भएको सेनाले जनाएको छ। यहि गतिमा काम हुने हो भने लक्ष्य भन्दा  केहि बर्ष बढ लाग्न सक्ने अनुमान गरिएको छ।बिजमाण्डू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.